बागलुङ, पुस २५ । बागलुङको तमानखोलामा आफ्नै भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको मृत्यु भएको छ। छर्राले घाइते भएका तमानखोला गाउँपालिका–१ बोङ्गादोभानका ४७ वर्षीय ओमबहादुर घर्तीलाई उपचारका लागि अञ्चल अस्पताल बागलुङ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।
अस्पताल पुर्याउँदा उहाँलाई मृत घोषणा गरिएको थियो। घरछेउको जङ्गलमा बाँदर लखेट्न भन्दै भरुवा बन्दुक बोकेर निस्केका घर्ती बिहीबार दिउँसो २ बजे बन्दुक पड्केर छर्राले लाग्दा घाइते भएको स्थानीयवासीले बताएका छन्।
उनको बायाँ हात, खुट्टा र पिडौँलामा चोट लागेको थियो । घटनालगत्तै स्थानीयवासीले घर्तीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बिहीबार राति अञ्चल अस्पतालले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले बताए ।
मृतक घर्तीको शव अञ्चल अस्पतालमा राखिएको छ।