काठमाडौं, १७ मंसिर। भारती खरेल प्रतिष्ठानले यस वर्षको ‘भारती खरेल स्मृति पुरस्कार’ साहित्यकार एवम् समाजसेवी भद्रकुमारी घलेलाई प्रदान गरेको छ। साहित्य साधिका तथा भक्तिमती भारती खरेलको ८२औं जयन्तीको अवसरमा सोमबार घलेलाई नगद रु ५१ हजार पुरस्कारसहित सम्मान गरिएको हो।
प्रतिष्ठानको तर्फबाट नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्रा डा वासुदेव त्रिपाठीले साहित्यकार घलेलाई नगद र सम्मानपत्रसहित उक्त पुरस्कार प्रदान गरेका हुन्। पुरस्कृत घले उमेरले ९० वर्षको भएपनि साहित्य रचना तथा सामाजिक कार्यमा सक्रिय छिन्। १०० भन्दा बढी कृति प्रकाशित गरिसकेकी घलेले भद्रकुमारी सेवा सदनमार्फत् विविध सामाजिक कार्य गर्दै आएकी छन्।
वि.सं.२०४९ मा प्रतिष्ठान स्थापना भएदेखि सुरू गरिएको भारती खरेल स्मृति पुरस्कार स्वामी प्रपन्नाचार्य, दयावीर सिंह कंसकार, भीमबहादुर अधिकारी लगायत व्यक्ति र स्वर्गद्वारी आश्रम, जाउलाखेल सत्सङग परिवार, अद्वैत संस्था, महेश गुरुकुल सन्याश्रमलगायत संस्थालाई प्रदान गरिसकिएको प्रतिष्ठानले जनाएको छ। – रासस