दमौली, २० कात्तिक। विभिन्न जनजातिको रहनसहन र संस्कृतिबारे जानकारी दिन तनहुँको दमौलीमा एकै ठाउँमा सात जातिका घर निर्माण गरिएका छन्। नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले बुधबारदेखि गर्न लागेको तनहुँ सांस्कृतिक तथा पर्यटन महोत्सवस्थलमा आदिवासी जनजाति समुदायका घर निर्माण गरिएका हुन्।
व्यास नगरपालिका–४ सिमलटारमा दरै, कुमाल, थारू, मगर, गुरुङ, बोटे र भुजेल जातिका घर निर्माण गरिएका परिषद्का अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिइन्। महोत्सव घुम्न आउने सर्वसाधारणलाई जनजातिको रीतिरिवाज र संस्कृतिबारे जानकारी प्रदान गर्न नमूना घर निर्माण गरिएका उनले बताइन्।
उनका अनुसार उक्त घरहरुमा सम्बन्धित जातजातिका संस्कृति झल्कने सामग्रीसमेत प्रदर्शन गरिनेछ। “महोत्सव अवलोकन गर्न आउनेलाई एउटै थलोबाट विभिन्न जनजातिको परम्परागत घर र संस्कृतिबारे जानकारी होस् भन्ने उद्देश्यसाथ घर निर्माण गरेका छौँ”, उनले भनिन्, “जसले गर्दा महोत्सवलाई आकर्षण थप्नेछ।”
अहिलेका पुस्तालाई जनजातिका परम्परागत घरबारेमा जानकारी नहुने भएकाले महोत्सवका अवसरमा त्यस्ता घर प्रदर्शन गर्न लागिएको घर्तीले जानकारी दिइन्।
बाँस र खर प्रयोग गरी बनाइएका घरलाई निकै आकर्षक बनाइएको छ। ‘अमूल्य भाषा, संस्कृतिको संरक्षण गरौँ, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौँ’ भन्ने मूल नारासहित हुने महोत्सव यही कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ।
दुई सय ३० कक्ष रहने महोत्सवमा रु तीन करोड बराबरको आर्थिक कारोवार हुने र तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवका प्रवक्ता नन्दु थापाले जानकारी दिइन्।
निःशुल्क बस सेवा
महोत्सव आयोजकले दमौली बजारबाट महोत्सव स्थलसम्म लैजान निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ। सर्वसाधारणको सुविधाका लागि दमौलीस्थित भोर्लेटारचोकबाट महोत्सवस्थलसम्म लैजान बसको व्यवस्था गरिएको हो। – रासस


























