काठमाडौं, १८ कात्तिक। संसद सचिवालयकी कर्मचारीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि सोमबार डिल्लीबजार कारागार पठाइएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राख्न आदेश दिएपछि डिल्लीबजार कारागार पठाइएको हो।
घटना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरुको बयान र तत्काल प्राप्त प्रमाणको आधारमा महरा कसूरदार होइन भन्न नसकिने भएकाले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।
यससँगै यो मुद्धाको टुंगो नलागेसम्म महरा जेलमा रहेनछन्। महराविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले बलात्कार उद्योगमा कारबाही गर्न अभियोगपत्र दर्ता गरेको थियो। मुलुकी अपराध संहिता २०७४ अनुसार बलात्कार उद्योगको आरोपमा साढे ३ वर्षदेखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।
सार्वजनिक ओहोदाको दुरुपयोग गरी अपराध गरेको भन्दै सरकारी वकिल कार्यालयले महरालाई हुने सजायमा डेढ गुणा थप गर्न पनि माग दाबी गरेको थियो। जिल्ला अदालतमा महराको बयानपछि आइतबार र सोमबार थुनछेक बहस भएको थियो।