चितवन, २३ भदौ। अति सिमान्तकृत समुदायको लागि भदौ महिना विशेष पर्वको महिना हो। यो समुदायले भदौ महिनाभर न्वाङ्गी मनाउने चलन छ, जुन चेपाङ जातीको सबैभन्दा ठूलो पर्व हो। सोमबार अथवा बिहीबारमध्ये एक दिन पितृ पूजा गरेर यो पर्व मनाउने परम्परा चेपाङ जातीको पुख्र्यौली संस्कार हो।
नेपाल चेपाङ संघले २०६३ सालबाट हरेक वर्ष भदौ २२ गते न्वाङ्गी पर्व मनाउने घोषणा गरेपछि सामुहिक रूपमा पर्व मनाउने चेपाङहरूले भदौ २२ गते आसपासको सोमबार र बिहीबारमध्ये एक दिन धुमधामका साथ यो पर्व मनाउने गर्दछ।

तर, घरघरमा पूजा गरेर मनाउनेहरूले भने भदौ महिना लागेपछिको सोमबार अथवा बिहीबार नै यो पर्व मनाइसकेका नेपाल चेपाङ संघका पूर्व केन्द्रीय अध्यक्ष पहलमान चेपाङले बताए। चेपाङको बाहुल्यता रहेको चितवनसहित मकवानपुर, धादिङ र गोरखामा पनि न्वाङ्गी पर्व धुमधामका साथ मनाइन्छ।
उनका अनुसार वर्खा लागेपछि उत्पादन हुने फलफूल तथा तरकारी न्वाङ्गी पर्वमा पितृलाई चढाएपछि मात्रै घरपरिवारले खाने गर्दछन्। घैया धान, केरा, घिरौँला, चिचिण्डा, लौका, खुर्सानी, अदुवालगायतका नयाँ खानेकुरा पितृलाई चढाएपछि मात्रै खान हुन्छ भन्ने मान्यता छ। पितृलाई नचढाउँदै खाएमा ‘पितृ रिसाउँछ’ भन्ने मान्यता छ।

यस दिन गाउँका पाण्डेलाई बोलाएर पितृ पूजा गर्ने चलन छ। गाउँको धामीझाँक्रीलाई उनीहरू पाण्डे भनेर चिन्छन्। यस दिन रातिबाट सुरू हुने पितृ पूजा बिहान उज्यालो हुने बेलामा मात्रै सकिने चेपाङ समुदायका पाण्डे लालबहादुर चेपाङले बताए।
चितवनको राप्ती १० का वडाअध्यक्ष अर्जुन चेपाङका अनुसार गाउँमा कोही मान्छे बिरामी भए पनि यस दिन पाण्डेले झारफुक गरेपछि निको हुन्छ भन्ने सांस्कृतिक मान्यता छ। बिरामी भएका घरबाट पाण्डे भेट्न कुखुरो बोकेर आउने चलन रहेको उनी बताउँछन्।

संस्कार धान्ने मुस्किल
तर, पछिल्लो समय धर्म परिवर्तनको असरले गर्दा चेपाङ समुदायको महान पर्व नै लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ। ‘अब हामीलाई यो पर्व संरक्षण गर्न निकै चुनौती छ,’ उनी भन्छन्, ‘गाउँका धेरैजसो चेपाङले आफूले मान्दै आएको धर्म छाडिसके। त्यसैले अब कसरी संरक्षण गर्ने भन्ने चिन्ता छ।’