काठमाडौँ, ३१ साउन। आजदेखि नेवार समुदायले मनाउने ‘गाईजात्रा’ पर्व सुरू भएको छ। परम्परागत सांस्कृतिक उत्सवको रूपमा मनाइने ‘गाईजात्रा’ पर्व भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाइन्छ।
एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारपटार गरी आ–आफ्ना इलाकामा परिक्रमा गराएर यो पर्व मनाउने परम्परा छ। यसरी परिक्रमा गर्दा वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्रा सुरु भएको इतिहासमा उल्लेख छ।
गाईजात्रा पर्वको अवसरमा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुणरसका गीत पनि गाइन्छ। आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रम आयोजना गर्ने र पत्रपत्रिकामा पनि सामाजिक कूरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशन गर्ने गरिन्छ।