चितवन, ३१ साउन। न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सिधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरी चितवन ल्याएको छ।
कडा सुरक्षाकाबीच तीनैजनालाई बिहीबार राति १ बजे चितवन ल्याइएको हो। तीनैजनाको चितवनको भरतपुर अस्पतालमा मेडिकल टेष्ट गरिएको थियो। उनीहरू तीनैजनामाथि शुक्रवार सरकारी वकिलसँगको छलफल तथा परामर्शपछि थप प्रकृया अघि बढाइने चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी पाए।
उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। नुवाकोटका स्थायी बासिन्दा पत्रकार पुडासैनी साउन २० गते राति चितवनको नारायणगढस्थित पोखरा बसपार्कको होटल कंगारूमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।
पुडासैनीको मृत्यु हुनुअघि मोबाइलमा रेकर्ड गरिएको भिडियो सन्देश बुधबार मात्रै बाहिरिएको थियो। घटना भएको १० दिनसम्म मौन बसेको प्रहरी बल्ल तातिन थालेको छ।