काठमाडौँ, २४ साउन। नेपाली आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रीय समितिले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ सार्वजनिक गरेको छ। पुरस्कार छनौट समितिको शुक्रबार बसेको बैठकले पत्रकारहरू कौशल चेम्जोङ, राजबहादुर गुरूङ, गणेश राई र शोभा श्रेष्ठलाई पुरस्कार दिने निर्णय गरेको फोनिजका महासचिव मनोज घर्तीमगरले प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ बाट पत्रकारहरु कौशल चेम्जोङ (रेडियो), राजबहादुर गुरुङ (अनलाइन), गणेश राई (छापा) र शोभा श्रेष्ठ (टेलिभिजन) विधामा पुरस्कृत हुनुहुने भएको छ।’
पुरस्कार छनौट समितिको २०७६ साउन २३ गते बसेको बैठकले गरेको पुरस्कार छनौट सम्बन्धी निर्णयलाई साउन २४ गते शुक्रबार बसेको फोनिज सचिवालय बैठकले अनुमोदन गरेको विज्ञप्तिमा जनाइएको छ। पुरस्कार यही साउन २७ गते फोनिजको स्थापना दिवसको अवसरमा प्रदान गरिनेछ। पुरस्कारको राशी जनही बीस हजार रुपैयाँ रहेको छ। सोही अवसरमा यसवर्ष फोजिनका संस्थापकदेखि पाँचौं महाधिवेशनसम्मका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिनेछ।
पुरस्कृत पत्रकारको संक्षित परिचय
कौशल चेम्जोङ
२०४५ सालबाट दृष्टि साप्ताहिकमार्फत पत्रकारिता सुरुवात गरेका कौशल चेम्जोङले ‘टंकेला साप्ताहिक’को सम्पादक/प्रकाशक हुँदै ब्लाष्ट दैनिक धरानको कार्यकारी सम्पादक, स्पेस टाइम्स दैनिक, च्यानल नेपाल र रेडियो नेपालको स्थानीय सम्वाददाताको रुपमा जिम्मेवारी निर्वाह गरिसकेका छन्। प्रारम्भदेखि हालसम्म जनआस्था साप्ताहिकको वरिष्ठ संवाददाताको रुपमा कार्यरत चेम्जोङ रेडियो त्रियुगामा स्थापनाकालदेखि नै स्टेशन म्यानेजरको रुपमा कार्यरत छन्। चेम्जोङ नेपाल पत्रकार महासंघको पूर्व उप–सभापति समेत हुन्।
गणेश राई
कान्तिपुर दैनिकका वरिष्ठ उप–सम्पादक गणेश राई लामो समयदेखि आदिवासी जनजातिको मुद्दामा कलम चलाउँदै आउने पत्रकारमध्ये एक हुन्। वि.सं.२०५० सालदेखि २०७४ सम्म त्रिभाषीय त्रैमासिक पत्रिका ‘लिब्जु–भुम्जु’ सम्पादन गरेका राईले कौशिकी, निप्सुङ, कावालगायतका भाषिक पत्रिकामा सम्पादकको रुपमा समेत जिम्मेवारी निर्वाह गरिसकेका छन्। २०४८ सालबाट वाम्बुले राई भाषा लेखन थालनी गरेका राई ‘किराँत राई पत्रकार संघ’का संस्थापक अध्यक्ष हुन्। उनी हाल फोनिजको सल्लाहकार हुन्।
राजबहादुर गुरुङ
२०५१ सालबाट पत्रकारितामा सक्रिय राजबहादुर गुरुङ पोखराबाट प्रकाशित यूनाइटेड दैनिक र यूनाइटेडखबर डटकमको प्रकाशक तथा सम्पादक हुन्। जनसत्ता साप्ताहिक, सूचना साप्ताहिक, सन्ध्याकालीन दैनिक, देशान्तर, विमर्श, तरुण, घटना र विचार, जनमन्थन, सगरमाथा टेलिभिजनलगायतका सञ्चारमाध्यममा काम गरिसकेका गुरुङ नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष हुन् भने हाल महासंघको केन्द्रीय अन्तराष्ट्रिय समन्वय समिति सदस्य हुन्। प्रेस युनियनका महाधिवेशन प्रतिनिधिसमेत रहेका गुरूङ हाल फोनिजको सल्लाहकार हुन्।
शोभा श्रेष्ठ
नेपाल टेलिभिजनमा वरिष्ठ समाचार सम्पादकको रुपमा कार्यरत शोभा श्रेष्ठ लामो समयदेखि आदिवासी जनजातिको विषयमा कलम चलाउँदै आएकी महिला पत्रकारमध्ये एक हुन्। आदिवासी जनजातिको भाषा, कला, संस्कार संस्कृति, रितिरिवाज र परम्परामा आधारित टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रशारण गर्दै आएकी उनले नेवाः पत्रकारसँग सम्बन्धित विभिन्न संघसंस्थामा आवद्ध भएर काम गरिसकेका छन्।