काठमाडौँ, २४ साउन। ‘मैले अहिलेसम्म कसैलाई एक लपेटो हानेको पनि छैन, आफूले खाएको पनि छैन,’ शुक्रबार कम्युनिष्ट नेता दिनानाथ शर्माको पुस्तक ‘झरीको सौन्दर्य’को लोकार्पण कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भन्दै थिए। दसवर्षे जनयुद्ध गरेर सत्तामा पुगेका अध्यक्ष प्रचण्डमाथि १७ हजार जनता मारेको आरोप थोपर्नेहरूलाई जवाफ दिँदै उनले थपे, ‘‘मेरो नेतृत्वमा त्यत्रो युद्ध भयो, हजारौंको बलिदान भयो।
तर, हिंसात्मक क्रियाकलापमा म कतै पनि सहभागी भइनँ। तर विगतमा आफ्नो नेतृत्वमा भएको जनयुद्धको जिम्मेवारी भने म आफैँले लिनुपर्छ र लिएको पनि छु।’ बिद्रोहको मात्र नभएर बिद्रोहलाई शान्तिपूर्ण र लोकतान्त्रिक प्रणालीमा ल्याउने नेतृत्व पनि आफूले गर्न पाएको भन्दै उनले खुसीसमेत व्यक्त गरे।
पुस्तक लोकार्पण कार्यक्रम भएकोले उनले आफूलाई साहित्य निकै मन पर्नेसमेत भन्न भ्याए। ‘मेट्रिक पास गरेर कलेज पढ्ने बेला महिनौं बाहिर ननिस्की म किताब पढेर बस्थैँ,’ उनले भने, ‘नाचगानमा पनि रूचि थियो। साहित्यमा भने लक्ष्मीप्रसाद देवकोटा र ताना शर्माका निबन्धहरू धेरै पढेको छु।’