चितवन, २४ साउन। चितवनका ह्याचरी उद्योग सञ्चालकहरूले शुक्रबार अवैध चल्ला नष्ट गरेका छन्। भारतबाट अवैधरूपमा ल्याइएको ब्रोइलरका पाँच हजार ५०८ वटा चल्ला नष्ट गरिएको हो। भारतीय कार्टुनमा आएको चल्ला मुग्लिनको लागि रौतहटबाट पठाइएको थियो। ना४च ३६५८ नं.को बलेरोमा ल्याइएको चल्ला चितवनकै ह्याचरी व्यवसयीहरूले मुग्लिन-नारायणगढ सडकखण्डस्थित जलवीरेबाट नियन्त्रणमा लिएको थियो।
उक्त चल्ला शुक्रबार साँझ पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ल्याएपछि व्यवसायी, जिल्ला प्रहरी कार्यालय चितवन, पशु क्वारेन्टाइन रामनगर, जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको रोहवरमा खाल्डो खनेर नष्ट गरिएको पशु विज्ञ केन्द्रका प्रमुख एवम् पशु चिकित्सक डा दयाराम चापागाईँले जानकारी दिए।

भारतबाट अवैधरूपमा नेपाल भित्रिएको कुखुराको चल्ला रौतहटस्थित उमाशंकर तिवारीले चितवनका प्रकाश पुडासैनीको नाममा श्रेष्ठ फिड ट्रेडर्सको विलमा चल्ला पठाएको पाइएपछि नियन्त्रणमा लिएर प्रकृयाअनुसार नष्ट गरिएको नेपाल ह्याचरी संघ चितवनका सहसचिव पुरू खनालले जानकारी दिए। उनका अनुसार भारतीय र नेपाली गरी दुई थरी कार्टुनमा चल्ला ल्याइएको हो।
नियमअनुसार रौतहटबाट मुग्लिनसम्म चल्ला ल्याउन र लैजानको लागि पथलैया र रामनगरमा रहेको पशु क्वारेन्टाइनमा प्रवेश गराएर मात्रै ल्याउन लैजान पाइने प्रावधान छ। तर, दुबै क्वारेन्टाइनमा प्रवेश नगराई सरासर मुग्लिन लगेको पाइएकोले चल्ला अवैधरूपमा ल्याएको भन्ने पुष्टि भएको पशु क्वारेन्टाइन रामनगरका प्रमुख रामकिशोर साहले जानकारी दिए।

गाडी चालक टिकाराम सुनार भने आफूलाई चल्ला वैध या अवैध भन्नेबारे केही जानकारी नभएको बताउँछन्। चल्ला बोकेरै गएका रित्तो फर्कनुभन्दा सामान लिएरै फर्किँदा दुई पैसा आम्दानी हुने भएपछि चल्ला लिएर आएको उनको भनाइ छ। चितवनमा प्रायःजसो आइतबार र बुधबार चल्ला निकाल्ने गर्दछ। अभिनास ह्याचरीले भने शुक्रबार पनि चल्ला निकाल्न थालेको छ।
तर, शुक्रबार निकालिने चल्लाले पर्याप्त नहुने ह्याचरी संघ चितवन कार्यसमिति सदस्य सुनिल ढकालको भनाइ छ। व्यवसायी नै काठमाडौँ पुगेर फर्किँदै गर्दा बाटोमा शंकास्पद अवस्थामा गइरहेको देखेपछि रोकेर सोधपुछ गर्दा अवैध चल्ला ल्याइएको बुझिएको उनले बताए।