म्याग्दी, ०८ साउन। लगातारको वर्षापछि आएको बाढीले म्याग्दीखोला खोलाको सतह बढेको छ। पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–१, गुर्जा र ४ मुदी गाउँको आसपासको क्षेत्रमा पहिरो जाँदा म्याग्दीखोलाको बहाव बढ्न गएको बताइएको छ।
खोलाले दाउराको थुप्रो र ठूल्ठूला मुढा बगाएर ल्याएकोले ठूलो पहिरो गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। तर, कहाँनेर पहिरो गएको हो भन्नेबारे जानकारी सङ्कलनका लागि टोली खटाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। धवलागिरी वेसक्याम्प वा हिमाली वनजङ्गलको क्षेत्रमा पहिरो जाँदा खोलामा बाढी आएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए।
भौगोलिक विकटता, यातायातको असुविधा र वर्षाका कारण सूचना सङ्कलनमा समेत समस्या भैरहेको प्रहरीले जनाएको छ। म्याग्दीखोलाको बहाव ह्वात्तै बढेपछि धवलागिरी, मालिका, मंगला गाउँपालिका र बेनी नगरपालिकाको तटीय क्षेत्रमा त्रास फैलिएको छ। तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ। स्थानीय भने उर्लिएर आएको खोलाबाट दाउरा र माछा सङ्कलन व्यस्त छन्।