काठमाडौँ, २२ असार। आइतबार प्रहरीले त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थलबाट डाइपरमा लुकाएर ल्याइएको ५ सय ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ। विशेष सुराकीका आधारमा तस्करीले सुन ल्याएको खबर पाएपछि काठमाडौं प्रहरी परिसर, टेकु र विमानस्थल सुरक्षा प्रहरी कार्यालयको संयुक्त अपरेशनबाट मोरङका लीलाबहादुर बस्नेत सुनसहित पक्राउ परेका हुन्।
कतारको दोहामा तीन वर्ष वैदेशिक रोजगारीका क्रममा बसेर फर्किएका उनलाई प्रहरीले पक्रेको हो। ‘फर्किने क्रममा एक जनाले डाइपर लगिदिनु भनेर निश्चित रकम दिने सर्तमा पठाएको उनले बयान दिएका छन्’, काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले भने, ‘हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ।’ बोगटीका अनुसार डाइपरको बटममा ‘रिङ’ बनाएर उनले सुन ल्याएका थिए।
अर्का व्यक्ति पनि समातिए
प्रहरीको अपरेशन लगत्तै विमानस्थल भन्सार कार्यालयले पनि उस्तै शैलीबाट सुन तस्करी गर्न खोज्ने अर्का एक भरियालाई पनि पक्राउ गरेको छ। विमानस्थलको एक्सरेमा चेकजाँचका क्रममा दोहाबाटै आएका वीरबहादुर थारु पक्राउ परेका हुन्। भन्सार स्रोतका अनुसार उनको साथबाट करिब दुई सय ग्राम सुन बरामद भएको छ।