काठमाडौं, २८ बैशाख।
नइ प्रकाशनले शनिबार २० जना स्रस्टाहरुलाई पुरस्कार वितरण गरेको छ। वाङ्मय शताब्दी पुरूष डा.सत्यमोहन जोशीमार्फत राजधानीमा आयोजित कार्यक्रममा स्वदेश तथा विदेशमा रहेका २० स्रष्टालाई पुरस्कृत गरिएको हो। प्रकाशनले हरेकवर्ष वाङ्मय शताब्दी पुरूष डा. जोशीकै जन्मोत्सवको अवसरमा यो कार्यक्रम आयोजना गर्दै आएको छ।
स्रष्टाद्वय प्रा.राजेन्द्र सुवेदी र प्रा.डा.महादेव अवस्थीले माला लगाएर वाङ्मय शताब्दी पुरूषको थप कीर्तिमय र दीर्घ जीवनको कामना व्यक्त गरे। जोशीको १००औँ जन्मदिनको अवसरमा नइ प्रकाशनबाट दुबोको माला लगाएर शुभकामनासमेत अर्पण गरिएको छ। कार्यक्रममा नगद दुईलाख राशि र ताम्रपत्रसहित ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ सुप्रसिद्ध साहित्यकारद्वय भारतका १०१ वर्षीय हाइमनदास राई किरात र ८६ वर्षिय डा.लक्खीदेवी सुन्दासलाई अर्पण गरिएको छ।
नेपाली वाङ्मयको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय विस्तारमा समेत महत्वपूर्ण योगदान पुर्याएबापत किरात र सुन्दासलाई उक्त पुरस्कार अर्पण गरिएको आयोजकले जनाएको छ। यो पुरस्कार नेपाली मूलका विदेशी नागरिकलाई मात्र प्रदान गरिन्छ ।
यस्तै सनातन हिन्दू धर्मसंस्कृतिको संवद्र्धन, संरक्षण तथा जागरणका लागि मन, वचन र कर्मबाट समर्पित श्री १००८ स्वामी रमणानन्द गिरीलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गरिएको छ। नेपालको राष्ट्रियता र राष्ट्रिय भौगोलिक अखण्डताका लागि सदैव चिन्तन, विश्लेषण र प्रचारप्रसारमा समर्पित भएर मातृभूमिप्रति दिएको विशिष्ट योगदानका निम्ति चन्द्रप्रकाश मैनालीलार्ई ‘नइ कीर्तिनिधी पुरस्कार’ अर्पण गरिएको छ।
नेपाली भाषाको श्रीवृद्धिका लागि अनवरत समर्पित रहँदै देशदेशान्तरमा नेपाली साहित्यको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रा.डा.चूडामणि बन्धुलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ अर्पण गरिएको छ। नेपालको आधुनिक इतिहासलाई निष्पक्ष र सकारात्मक रुपमा परिमार्जन गर्दै नेपालको इतिहासको अध्ययनमा नै समर्पित प्रा.डा.त्रिरत्न मानन्धरलाई ‘नइ भूपाल दुर्गा पुरस्कार’ अर्पण गरिएको छ। नेपाल बाहिर रहेर नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय विस्तारका लागि सृजनात्मक र सङ्गठनात्मकरूपमा निरन्तर समर्पित अमेरिकाका गोविन्द गिरी प्रेरणालाई ‘नइ गणेश दुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ अर्पण गरिएको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए। यो पुरस्कार विदेशमा बसेर नेपाली साहित्यको सेवा गर्ने नेपाली मूलका स्रष्टालाई मात्र प्रदान गर्दै आएको उनले बताए।
साढे सातदशक अघिदेखि चित्रकलामा अविच्छिन्न समर्पित रहँदै नेपालमा पहिलोपल्ट एकल चित्रकलासमेत प्रदशर्नी गर्ने गेहेन्द्रमान अमात्यलाई ‘नइ यउजा पुरस्कार’ अर्पण गरिएको छ।
यस्तै स्याङ्जाका देवीप्रसाद वनवासीलाई ‘नइ धनरुप पुरस्कार’ अर्पण गरिएको छ। यो पुरस्कार राजधानी बाहिर बसेर नेपाली साहित्यको सेवा गर्ने स्रष्टालाई मात्र प्रदान गरिन्छ। यी सातैैवटा पुरस्कार ताम्रपत्रसहित जनही एक÷एक लाख रूपैयाँ राशिका रहेका छन्।
समारोहमा ताम्रपत्र सहित ३ जना व्यक्तित्वलाई जनही ५० हजार रूपियाँ राशिका पुरस्कार समर्पण गरिएको थियो। नइ प्रकाशनद्वारा मन, वचन र कर्मले स्वास्थ्य विज्ञानमा समर्पित भई जनस्वास्थ्यका लागि अनुकरणीय योगदानका निम्ति प्रा.डा.महेश खकुरेललाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ अर्पण गरिएको प्रकाशनका सदस्य सचिव प्रसाईँले जानकारी दिए।
नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि सृजनात्मक र सङ्गठनात्मक रुपमा समर्पित भई देशदेशान्तरमा नेपाली भाषा र साहित्यको गरिमा बढाएबापत मोहन दुवाललाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ अर्पण गरिएको थियो। उपत्यका बाहिर बसेर नेपाली भाषा साहित्य र शिक्षासेवामा निरन्तर समर्पित रहेर महत्वपूर्ण योगदान पुर्याएको भन्दै नेपालगञ्जकी किरण आचार्यलाई ‘नइ बुलु शर्मा पुरस्कार’ अर्पण गरिएको छ। यो पुरस्कार राजधानी बाहिर बसेर नेपाली साहित्यको सेवा गर्ने नारी स्रष्टालाई मात्र प्रदान गरिन्छ।
नइ प्रकाशनले आआफ्नो अध्ययनमा संलग्न भई विविध वाङ्मयिक गतिविधिमा समर्पित १५ वर्षसम्मका ५ जना बालबालिकालाई ताम्रपत्रका साथ जनही १० हजार रूपैयाँ राशीसहित ‘नइ बाल पुरस्कार’ समर्पण गरेको छ। यसरी पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ जेनी मानन्धर, साहित्यतर्फ प्रारम्भ अधिकारी, चित्रकलातर्फ विमल शाही, नृत्यतर्फ पालिस्था नापित र खेलकुदतर्फ निशान पन्थी रहेका छन्।
१० वर्ष उमेर समूहका गायनमा हिमानी प्रधान र नृत्यमा अपेक्षा शेरचनलाई ताम्रपत्रका साथ जनही ७ हजार रूपैयाँ राशीसहित ‘नइ कोपिला पुरस्कार’ समर्पण गरिएको छ। यस्तै ३ वर्षिय स्वकिृति दाहाललाई ताम्रपत्रका साथ ५ हजार रूपैयाँ राशीसहित ‘नइ चिचिला पुरस्कार’ समर्पण गरिएको छ।