काठमाडौँ, २५ बैशाख। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै आज (बुधबार)देखि मुलुकभर एकसाथ ‘राष्ट्रिय जागरण अभियान’ सुरु गर्दै छ। एक महिने अभियानअन्तर्गत पहिलो चरणको कार्यक्रम हुन लागेको हो। ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको उक्त अभियान तीन चरणमा वर्षभरि हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
बैशाख २५ गतेबाट सुरू हुने पहिलो चरणको अभियान जेठ २५ गते सकिने छ। अभियानलाई सफल पार्न काँग्रेसले प्रत्येक जिल्लामा केन्द्रीय तहका नेताहरूलाई प्रतिनिधिको रूपमा खटाइसकिएको उनले बताए। जिल्ला जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिहरूलाई एक महिनासम्म सम्बन्धित जिल्लामै राखिने काँग्रेसले जनाएको छ।
‘नेपाली राजनीतिमा एकै स्वरूपको प्रथम कार्यक्रमका रूपमा अभियान प्रारम्भ हुँदै छ,’ प्रवक्ता शर्माले भने, ‘नेपालमा मात्र नभई मुलुकबाहिर पनि ३३ देशमा अभियानअन्तर्गतको कार्यक्रम सञ्चालन हुँदैछ।’ पार्टीको नीति तथा कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म व्यापक ढंगले सुसूचित गर्ने अभियानको पहिलो उद्देश्य भएको उनको भनाइ छ।
‘सरकारका भ्रष्टाचारलगायत अनेक विसंगतिपूर्ण जनविरोधी क्रियाकलापबारे सविस्तार विवरण आम नागरिकमा व्यापक ढंगले प्रस्ट्याउने काम हुन्छ’, जागरण अभियानबारे कांग्रेसद्वारा विज्ञप्तिमा उल्लेख छ। अभियानमा स्वागत मन्तव्य र कार्यक्रम विसर्जनबाहेक तीन जना मात्र वक्ता हुनेछन् भने महिला वक्ता अनिवार्य गरिएको उनले बताए।
कार्यक्रममा माला, खादा र ब्याच नलगाउने
नेपाली काँग्रेसले पार्टीको कार्यक्रममा माला, खादा र ब्याचको प्रयोग नगर्ने जनाएको छ। ‘कार्यक्रमको उद्घाटन वर–पीपल, स्वमीमध्ये कुनै एक बिरुवा रोपेर गरिने छ,’ प्रवक्ता शर्माले भने। काँग्रेसले जागरण अभियानको लागि १२ भाषामा जागरण गीतसमेत तयार गरेको छ। पार्टी प्रवक्ता शर्मा आफैँले रचना गरेको उक्त गीतलाई नेपालीसँगै गुरूङ, मगर, नेवारी, तामाङ, राई, लिम्बू, मैथिली, भोजपुरी, थारू, राजवंशी र देउडा भाषामा रेकर्ड गरिसकिएको छ।
अभियान सफल बनाउन काँग्रेसले सबै भ्रातृसंस्थाहरूलाई परिचालन गरेको छ। दोस्रो चरणको अभियान भने बीपी जयन्तीको अवसरमा भदौ २४ गतेदेखि सुरू भई असोज ७ गते समापन हुनेछ। यस्तै तेस्रो चरणको अभियान भने पुस ७ गतेबाट १६ गतेसम्म चल्नेछ। प्रथम चरणमा देशभरका सबै जिल्ला, दोस्रो चरणमा ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र तेस्रो चरणमा ७ सय ५३ स्थानीय तहमा जागरण अभियान सञ्चालन हुने उनले बताए।


























