एजेन्सी, बैशाख २३ ।
ब्रुनाइमा समलिंगी यौन सम्बन्धमा रहेकालाई ढुंगाले हानेर मृत्युदण्ड दिने कानुन लागू नहुने भएको छ । यहीवर्ष अप्रिल महिनामा ब्रुनाइमा समलिंगी यौन सम्बन्ध रहेको पत्ता लागेमा ढुंगाले हानेर मार्ने कानुन बनाइएको थियो ।
यसका साथै गएको अप्रिलदेखि लागू भएको नयाँ कानुनमा चोरीको आरोप सावित भएपछि दोषीको हात अथवा खुट्टा शरिरबाट अलग गरिने कडा कानुन पनि ल्याइएको छ । ब्रुनाइमा रक्सी बेच्न पहिलेदेखि नै प्रतिबन्ध छ ।
समलिंगी सम्बन्धमा बनेको यो कानुनको विश्वभर नै आलोचना भएको थियो । यसबारेमा अधिकारकर्मी र अन्तर्राष्ट्रिय जगतमा चर्को आलोचना भएको थियो ।
एलजीबीटीक्यूआई (लेस्बियन, गे, बाइसेक्सुअल, क्वीयर, इन्टरसेक्सुअल) समुदायको लागि काम गर्नेवाला मानवअधिकार कार्यकर्ताले ब्रुनाइको यो फैसलाको कडा निन्दा गरेको थियो । उनीहरुले यो फैसला अमानवीय भएको बताउँदै आएका थिए ।
अन्तर्राष्ट्रिय स्तरमा कडा आलोचना भएपछि ब्रुनाइका सुल्तान हसनल बोल्कीहाले आइतबार टेलिभिजनबाट देशवासीका नाममा सम्बोधन गर्दै देशमा समलिंगी सम्बन्धमा कसैलाई मृत्युदण्ड नदिने बताएका हुन् । यद्यपि ब्रुनाइमा सन् १९५७ देखि विद्यमान कानुनमा कतिपय विषयलाई लिएर मृत्युदण्डको व्यवस्था रहेको छ ।