युवाहरुलाई गणकको रूपमा खटाइने
चितवन, बैशाख २२। दुईवर्षपछि नेपालमा राष्ट्रिय जनगणना हुँदैछ। जसको लागि केन्द्रीय तथ्यांक विभागले जिल्ला जिल्लामा पुगेर आवश्यक सुझाव संकलन गरिरहेको छ।
२०७८ मा हुन लागेको १२औँ जनगणनाको लागि पूर्व तयारी गर्नुपर्ने भएकोले समयमै सुझाव संकलन गरिसक्ने योजनासहित जिल्ला जिल्लामा अन्तरक्रिया कार्यक्रममार्फत सुझाव संकलन गरिएको केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक डिल्लीराज जोशीले बताउनुभयो। ‘यो पटकको जनगणना संघीय संरचनाअनुसार गर्नुपर्ने भएकोले पहिलेका जनगणनाभन्दा केही फरक छ,’ उहाँले भन्नुभयो, ‘त्यसको लागि हामीले तीनवटै तहका सरकार तथा सम्बन्धित निकायहरुसँग छलफल चलाउँदै आएका छौँ।’
जनगणनाको सही तथ्यांक निकाल्नको लागि आवश्यक तयारीमा लागेको उहाँले बताउनुभयो। ‘अहिले नेशनल डेटा प्रोफाइल बनाउने काम भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘यसपछि पनि विभिन्न खालका तालिम, गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम गरेर आवश्यक जनशक्ति तयारी गर्नुपर्ने छ।’
तथ्यांकलाई विगतका जनगणनामा भन्दा बढी विश्वासिलो र भरपर्दो बनाउनुपर्ने चुनौती रहेकोले सोहीअनुसारको तयारीमा विभाग लागेको विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताउनुभयो। जसको लागि गणक र पर्यवेक्षकलाई दक्ष बनाउनु आवश्यक रहेको उहाँको भनाइ छ। लामिछानेका अनुसार विभागले गणक र पर्यवेक्षकहरुलाई जनगणनासम्बन्धि तालिम दिएर गाउँगाउँमा खटाइने छ।
२०७८ मा एउटा मात्रै लगत फारम प्रयोग गरेर जनगणना गर्ने योजना रहेको उहाँले बताउनुभयो। जसको लागि घर तथा परिवार सूचीकरणको लागि २० दिन र व्यक्तिगत गणना (मूल प्रश्नावलीको लागि १५ दिनको समय छुट्याइएको उहाँले बताउनुभयो। प्रविधिको प्रयोगमार्फत गणनालाई चुस्तदुरूस्त बनाउने उहाँले दावी गर्नुभयो। त्यसअघि आवश्यकताअनुसार विभिन्न समिति गठन गरेर काममा खटाइनेछ।
जनगणनाको लागि अहिलेबाटै तयारी थाले पनि आर्थिक वर्ष २०७६÷०७७ सबैभन्दा मह¤वपूर्ण समय भएको उहाँको भनाइ छ। ‘यो आर्थिक वर्षभित्र सबै तयारी सक्नुपर्नेछ,’ उहाँले भन्नुभयो, ‘त्यसैले पनि यो समय ज्यादै मह¤वपूर्ण छ।’ तथ्यांक संकलन गरिसकेपछि बढीमा तीन महिनाभित्र प्रारम्भिक नतिजा सार्वजनिक गर्ने लक्ष्य रहेको निर्देशक लामिछानेले बताउनुभयो। तर, संघीय संरचनाअनुसार गणना गर्नु चुनौतीपूर्ण भएको उहाँको भनाइ छ।
जनगणनामा शिक्षकलाई नखटाइने
विगतका जनगणनामा गणक र पर्यवेक्षकको लागि शिक्षकलाई खटाउँदै आएको तथ्यांक विभागले २०७६ सालको जनगणनामा भने शिक्षकलाई नखटाइने जनाएको छ। हरेक १०/१० वर्षमा हुने जनगणनाको लागि वर्तमान समयमा १० जोड दुई तथा स्नातक तह अध्ययन गरेका युवाहरु प्रशस्तै भएकोले उनीहरुलाई नै अवसर दिने तयारी भइरहेको विभागका निर्देशक लामिछानेले बताउनुभयो। ‘अबको जनगणनामा शिक्षकलाई नै खटाउनुपर्ने आवश्यकता छैन,’ उहाँले भन्नुभयो, ‘किनकि शिक्षित युवाहरु प्रसस्तै छन्, त्यसैले अब हामीले उनीहरुलाई नै अवसर दिनुपर्छ।’
शिक्षकलाई जनगणनामा प्रयोग गर्दा शैक्षिक क्षेत्रमा समेत प्रभाव पर्ने हुँदा शिक्षकको विकल्पमा अन्य व्यक्तिलाई खटाउने तयारी भइरहेको उहाँको भनाइ छ।
सही तथ्यांक नहुँदा विकास निर्माणमा समस्या
जनगणना हरेक हिसाबले सही हुनुपर्नेमा जनप्रतिनिधीहरुले जोड दिएका छन् । ‘सही तथ्यांक नआए विकास निर्माणसम्बन्धि हरेक काममा समस्या सिर्जना हुन्छ,’ रत्ननगर नगरपालिकाका मेयर नारायण वनले भन्नुभयो, ‘त्यसैले तथ्यांक सही हुनु आवश्यक छ।
त्यसको लागि गणक तथा पर्यवेक्षकमाथि गहिरो निगरानी गरिनुपर्छ।’ यसअघिका जनगणनामा कतिपय गणकहरुले चौतारोमा बसेर तथ्यांक संकलन गरेकोले वास्तविक गणना नभएको उहाँको भनाइ छ। भरतपुर महानगरपालिकाका प्रवक्ता एवम् वडा नं. १० का अध्यक्ष अरूण ‘पीडित’ भण्डारीले नाराजस्तै काम पनि मीठो हुनुपर्ने बताउनुभयो। ‘मेरो जनगणना, मेरो सहभागीता भन्ने नारा जति मीठो छ, त्यस्तै मीठो तरिकाले काम हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘नाराजस्तै मीठो काम गर्नको लागि गणक र सुपरभाइजरको भूमिका मह¤वपूर्ण हुन्छ।’
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भने जस्तोसुकै राम्रो प्रविधिको प्रयोग गरे पनि व्यक्ति आफैँ सक्षम नभएसम्म चुस्त दुरूस्त काम नहुने प्रतिक्रिया दिनुभयो।
‘पछिल्लो समय आएका नयाँनयाँ प्रविधिको जतिसुकै राम्रो तरिकाले प्रयोग गरे पनि प्रयोग गर्ने वा काम गर्ने व्यक्ति सही भएन भने काम पनि राम्रो हुँदैन,’ उहाँले भन्नुभयो, ‘यसको लागि तथ्यांक विभागले मूल्यांकन गरेर कर्मचारी खटाउनु आवश्यक छ।’ र सम्बन्धित निकाय वा व्यक्तिसँगको समन्वय र सम्पर्क सबैभन्दा बढी मह¤वपूर्ण पाटो भएकोले समन्वयको आधारमा काम गर्न सुझाव दिनुभयो।
अपांग जागरण अभियान चितवनका अध्यक्ष अम्बिकालाल श्रेष्ठले भने यसअघिका गणनामा सही तथ्यांक नआएकै कारण अपांगता भएका व्यक्तिहरूको तथ्यांक पनि सही नभएको बताउनुभयो। अपांगता भएका व्यक्तिहरुको सही तथ्यांक पत्ता लगाउनको लागि कस्ता व्यक्तिलाई अपांग भनिन्छ भन्ने विषयमा ज्ञान लिनु आवश्यक रहेको उहाँको भनाइ छ।
‘सरकारले अपांगता भएका व्यक्तिहरुलाई शारिरीक अवस्थाको आधारमा १० प्रकारमा विभाजन गरेको छ,’ उहाँले भन्नुभयो, ‘तर, कस्ता व्यक्तिलाई अपांगता भएको भन्ने ज्ञान नहुँदा अपांगता भएका व्यक्तिको सही तथ्यांक आउन सकेको छैन।’
गणकले परिवारमा अपांगता भएका व्यक्ति छन् कि छैनन् भनेर सोध्न हिच्किचाउने कारण पनि अपांगता भएका व्यक्तिहरुको सही तथ्यांक नआउनुको मुख्य कारण रहेको उहाँ बताउनुहुन्छ । ‘त्यसैले गणकले हरेक घरमा अपांगता भएका व्यक्ति छन् कि छैनन् भनेर खुलस्त सोधेर टिपोर्ट गरे सही तथ्यांक आउने थियो,’ उहाँले भन्नुभयो।