नुवाकोट । विदुर नगरपालिका–१२ चैनपुरमा बिहीबार भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २३ जना घाइते भएका नुवाकोट प्रहरीले जनाएको छ। विदुर–४ बट्टारबाट तारकेश्वर गाँउपालिका–१ दाङसिंहतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुर–१२ चैनपुरस्थित पिपलबोट भन्ने स्थानमा दुर्घटना हुँदा तारकेश्वर गाउँपालिका–६ भमराका अन्दाजी ६२ वर्षीय रामप्रसाद अर्याल, उनकी श्रीमती ६० वर्षीया सीतादेवी अर्याल र विदुर–३ का ५८ वर्षीय बाबुराम दर्जीको मृत्यु भएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए।
उनका अनुसार दुई जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा त्रिशूली अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका २३ मध्ये पाँच जनाको नुवाकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ। नमस्ते पासाङ ल्हामु यातायात प्रालिमार्फत सञ्चालित उक्त बस चैनपुरस्थित पिपलबोट उकालोमा यात्रु ओरालेर अघि बढ्ने क्रममा अनियन्त्रित भई दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन्।
तस्बिर सौजन्य : रासस


























