चितवन । भरतपुर महानगरपालिकाले पुरक बजेट ल्याएको छ। १२औँ नगरसभामा महानगरले २५ करोड ९५ लाख ४१ हजार बराबरको पुरक बजेट ल्याएको हो। पुरक बजेट प्रस्तुत गर्दै महानगरका उपमेयर चित्रसेन अधिकारीले पुरक बजेट ल्याउँदा थप दायित्व सिर्जना नहुने बताए। अख्तियारी रकम पर्याप्त नभएमा वा कुनै सेवा वा क्षेत्रमा बढी खर्च गर्नुपरेमा स्थानीय तहले पुरक बजेट ल्याउन सक्ने व्यवस्था छ।
थप २४ वटा नयाँ कार्यक्रम तथा शीर्षकमा बजेट परेको हो। पशु विकास तथा दूध अनुदानमा १ करोड ९० लाख, विपन्न आर्थिक सहायता मृगौला डायलासिसका लागि १ करोड ५० लाख, परियोजना बैंक तयारीका लागि ९३ लाख ४१ हजार, समपुरक साझेदारी कोषमा ५ करोड, विशेष आकस्मिक कोषमा ३ करोड, बेपत्ता तथा घाइते परिवारको लागि २० लाख, विपन्न आर्थिक सहायतका लागि ५ लाख, भरतपुर आँखा अस्पताललाई १ करोड, वडास्तरीय पार्क वडा नम्बर १८ मा ३० लाख, एमआरसी सेण्टर स्थापनाका लागि ८ लाख बजेट छुट्टाइएको छ।
यस्तै स्मार्ट सिटी माष्टर प्लान निर्माणका लागि १ करोड, मागमा आधरित सडक तथा अन्य पूर्वाधार निर्माणमा ३ करोड, मागमा आधरित ग्राबेलिङका लागि १ करोड, ह्युमपाइप खरिदका लागि ५० लाख बजेट छुट्टाएको छ। महानगरले चालु आर्थिक वर्षका लागि ५ अर्ब ८४ करोड ४२ लाख ५६ हजार बजेट प्रस्तुत गरेको थियो। पुस मसान्तसम्म चालु तर्फ ८८ करोड ६३ लाख १९ हजार र पुँजिगततर्फ ५३ करोड ८३ लाख १७ हजार खर्च भएको जनाइएको छ।
पुँजिगततर्फ ३५ र चालूतर्फ १७ प्रतिशत खर्च भएको महानगरले जनाएको छ। महानगरले १ अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा पुस मसान्तसम्म ३४ करोड २९ हजार अर्थात् २२ प्रतिशत मात्रै संकलन भएको छ। महानगरले पुरक बजेट ल्याएपछि अब महानगरको कुल बजेट ६ अर्ब १० करोड ३७ लाख ९७ हजार ४०० रुपैयाँ पुग्नेछ।