चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगरभित्र दीर्घकालीन महत्त्वका आयोजनाहरु कार्यान्वयनको चरणमा रहेको बताएकी छन्। शुक्रबार भएको १२औँ नगरसभामा नीति तथा कार्यक्रम एवम् बजेट कार्यान्वयनको समीक्षा गर्दै महानगरलाई देशकै नमुना महानगरमा रुपान्तरण गर्न थुप्रै विकास निर्माणले गति लिएको बताएकी हुन्।
उनका अनुसार पुस मसान्तसम्म महानगरभित्र थप २६ किमी सडक कालोपत्रे भएको छ। महानगरभित्र हालसम्म ६४८ किमी सडक नयाँ कालोपत्रे बनिसकेको छ। ६ महिनामा ४.५ किमी सडक मर्मत तथा १० किमी सडक ग्राभेल गरिएको छ। ४३२ किमी सडक स्तरोन्नति अर्थात् ग्राबेलिङ गरिएको उनले बताइन्।
पूर्वपश्चिम राजमार्गको नारायणी नदीमा सिग्नेचर ब्रीज निर्माणका लागि टेण्डर भैसकेको बताइन्। नारायणी तटमा सि–बिच मोडेलको विकास गर्ने काम अगाडि बढेको पनि उनले बताइन्। नारायणी नदी नियन्त्रण आयोजनाबाट १५ करोड ५० लाख, सघन सहरी विकास आयोजनाबाट २ करोड, पर्यटन विभागबाट ७ करोड सहित २४ करोड ५० लाख बराबरको काम भइरहेको बताइन्।
मेयर दाहालले नारायणी नदी आसापासका बस्तीलाई डुबान हुनबाट जोगाउन तटबन्धनको काम भइरहेको बताइन्। नारायणी तटबन्धनको काम ५ खण्डमा २ अर्ब ५४ करोड ५० लाखको ठेक्का सम्झौता भएर काम अगाडि भएको उनको भनाइ छ। पुलचोकदेखि गोन्द्राङसम्म हरियालीसहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्रयाक निर्माण भइरहेको बताइन्।
यस्तै चार लेनको बाइपास सडक विस्तार कार्य अन्तिम चरणमा पुगेको उल्लेख गरिन्। हुलाकी सडकको १९ किमी विस्तार, भरतपुर–मेघौली–गोलाघाट (सहायक राजमार्ग) खण्डको ८ किमी सडक निर्माणाधीन रहेको बताइन्।
यस्तै निर्माणाधिन सिटी हल आगामी आर्थिक वर्षमा सम्पन्ने हुने अवस्थामा पुगेको बताइन्। रिंगरोडको ८८ किमीमध्ये ४२ किमी सडक निर्माण सम्पन्न हुने चरणमा पुगेको बताइन्। आगामी वर्ष २०८० लाई ‘घुमौं भरतपुर’ अभियान चलाउने पनि महानगरको योजना रहेको उनको भनाइ छ।
महानगरको पर्यटन प्रवर्द्धनका लागि भरतपुर–पोखरा–लुम्बिनी गोल्डेन ट्रयाङगल टुरिजम् सर्किटको अवधारणालाई अगाडि बढाइएको बताइन्। महानगर क्षेत्रको पर्यटन प्रवर्द्धन र विकास गर्न निजी क्षेत्रको समेत सहकार्यमा पर्यटकीय गन्तव्य पहिचान गरी ६ रात ७ दिनको टुर प्याकेज घोषणा गरिएको उनले बताइन्।