चितवन । विपन्न परिवारका समुदायलाई लक्षित गर्दै राप्ती नगरपालिकाले पाँच सय घर बनाइदिने भएको छ। नगरभित्र बसोबास गर्ने चेपाङ, दलित र अन्य समुदायको विपन्न परिवारलाई नगरपालिकाले आवासको व्यवस्था गर्न लागेको हो। नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार हरेक वर्ष एक १०० बनाउने योजनासहित काम भइरहेको छ।
पहिलो वर्षका लागि यस कार्यक्रममा रू एक करोड विनियोजन भएको उनले बताए। हिउँदे अधिवेशनमा यसको बजेट बढाएको उनले बताए। यस वर्षमा निर्माण गरिने भनिएका घरहरूमध्ये मङ्सिर मसान्तसम्म ३२ वटा घरको निर्माण सम्पन्न भई रकम भुक्तानीसमेत भइसकेको उनले जानकारी दिए।
अहिले आठवटा घर निर्माणको क्रममा छन्। घर निर्माणका लागि नगरपालिकाले प्रतिघर रू दुई लाख विनियोजना गरेको छ। निर्माणका लागि रू दुई लाख १५ हजारदेखि रू दुई लाख २५ हजारसम्म लाग्ने अनुमान गरिएको छ। अन्य रकम घरधनीले श्रमदान गर्नुपर्ने उनले बताए।
जग्गा भएर पनि घर निर्माण गर्न नसकेका विपन्न परिवारका लागि नगरपालिकाले वडाको सिफारिस र स्थलगत अनुगमनपछि घर निर्माणको काम अगाडि बढाउने गरेको छ। घर दुईकोठे जस्ताको छानो भएको हुने उनले जानकारी दिए। नगरपालिकाभित्र रहेका १३ वटा वडामध्ये वडा नं १०, ११, १२ र १३ मा यस्ता परिवार धेरै रहेका छन्।
पालिकामा चेपाङ, तामाङ समुदायको बसोबास बाक्लो छ। राज्यको दायित्वभित्र गाँस, बास र कपास पर्ने भन्दै उनले सुरुवाती चरणमा बासको व्यवस्थापन गर्न लागिएको बताए। रासस
Facebook Comments

























