लुम्बिनी । मधेशलगायत देशका प्रायः सबै क्षेत्रबाट परम्परागत रैथाने खेल लोप हुँदै गएका छन्। विगत तीन दशकको अवधिमा धेरै रैथाने खेल लोप भइसकेका र कतिपय खेल लोपोन्मुख अवस्थामा पुगेका छन्। कुनै समय नेपालको राष्ट्रिय खेलको उपमा पाएको कपर्दी र डण्डिबियो अहिले लोपोन्मुख अवस्थामा छन्।
त्यसैगरी बढी खेलिने कुस्ती, चिक्का, लच्चिकडाँडी चटकी–डाँड र लट्ठीलगायतका रैथाने खेल देखिन छाडेका छन्। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ले खेलकुद शब्दलाई परिभाषित गर्ने क्रममा परम्परागत रैथाने खेललाई खेलकुदभित्र समेटेको भए पनि त्यसको आधिकारिकता, संरक्षण र विकासका लागि कुनै पहल गरेको देखिएको छैन।
परम्परागत रैथाने खेलप्रति सरकारले कुनै चासो नदेखाएको खेलप्रेमी रमेश कुर्मीको गुनासो छ। ‘मधेशका लोकप्रिय खो–खो, आठ–काठ, गोबरतोतो, आइस–पाइस, लङ्गड–गोटी, आँखा छोप्ने, खेल त देख्नै पाइएको छैन,’ उनी भन्छन्। बालबालिकामा मोबाइल र इन्टरनेटप्रति बढ्दो ‘क्रेज’का कारण बालापनका रैथाने रोमाञ्चक खेल दिन प्रतिदिन लोप हुँदै गएको मधेश मानव अधिकार गृह (माहुरी–होम) कपिलवस्तुका वरिष्ठ उपाध्यक्ष तथा अवधि संस्कृतिका स्थानीय अभियानकर्ता रामदयाल ठाकुर बताउँछन्।
पातलाई पैसा मानेर त्यसैबाट सरसामानको खरिद बिक्री गर्ने, रुखको हाँगा हल्लाएर मोटर चढेको महुसस गर्ने वा सलाईको बट्टालाई धागोले जोडेर बनाएको टेलिफोनमा साथी सँगाती मिलेर कुराकानी गर्दै खेल्ने बालापनका रोमाञ्चक खेल अहिले लोप भएर गएका छन्। उनका अनुसार भँवरा, मौरी वा झिँगालाई सलाईको बट्टाभित्र राखेर ‘रेडियो’ बजाउनेदेखि तितली किराको खुट्टामा धागो बाँधेर उडाउँदै–तान्दै लिइने मनोरञ्जन अहिले केवल इतिहास भएका छन्।
‘प्रविधिको विकाससँगै अहिलेका बालबालिकाहरू शारीरिक अभ्यास हुने खेल खेल्न छाडिसकेका छन्,’ उनले भने, ‘हाम्रो पालामा कागजका डुङ्गा बनाएर पानीमा तैराइन्थ्यो। चङ्गा उडाउने प्रतिस्पर्धा हुन्थ्यो, कागजको जहाज उडाइन्थ्यो, गोली–गुच्चा खेलिन्थ्यो। तर अहिलेका बालबालिका मोबाइलमै झुम्मिन्छन् र नानाभाँतीका खेल मोबाइलमै खेल्छन्। परम्परागत रैथाने मनोरञ्जक खेल त अब हराएर गए।’
ठाकुरका अनुसार अहिलेका बालबालिकाले न साथी सँगातीहरूसँग हौसिँदै बालापनमा खेल्नु पर्ने परम्परागत रैथाने खेलहरू खेल्न पाएका छन्, न त यस्ता खेल खेल्न विद्यालय र अभिभावकले नै बालबालिकालाई प्रोत्साहित गरेको देखिन्छ।
अहिलेका बालबालिका फ्रि–फायर, पब्जी तथा युवाहरू तास र लुँडोजस्ता इन्टरनेटको सहायताले खेलिने शारीरिक अभ्यासबिनाका आधुनिक खेलमा एकोहोरो हुँदा सामूहिक भावनामा ह्रास आउने गरेको रामनरेश माध्यमिक विद्यालय धकधईमा अध्यापनरत सामाजिक विषयका शिक्षक सिद्धार्थकुमार त्रिपाठी बताउँछन्। शिक्षक त्रिपाठीका अनुसार परम्परागत रैथाने खेलको एउटैमात्र व्यवस्थित र सर्वमान्य नियम हुँदैन। ठाउँ र खेलको लोकप्रियताका अनुसार यसका नियमहरू केही फरक हुन सक्छन्।
परम्परागत रैथाने खेल वातावरणमैत्री हुनुका साथै आर्थिक हिसाबले पनि सस्तो रहेको कुस्ती–प्रशिक्षक पहलवान राजेन्द्र यादवले बताए। ‘शारीरिक स्फुर्ति, मनोरञ्जन र भाइचाराको सम्बन्ध स्थापित गर्न सघाउने यी खेल लोप हुनु जनस्वास्थ्य तथा राष्ट्रिय पहिचान सबैका लागि घाटा हो,’ उनले भने।
कबड्डीका पूर्व खेलाडी मनोज दनुवार पनि रैथाने खेल लोप हुने अवस्थामा आइपुग्दा चिन्तित छन्। देशको पहिचान, सभ्यता र संस्कृति नै हराएर जाँदा अन्तर्राष्ट्रियस्तरमा पहिचान जमाएका खेलसमेत लोप भइसकेको उनको भनाइ छ।
यतिबेला नेपालमा क्रिकेट संघ र फुटबल संघबाहेक अन्य खेल संघहरूले राष्ट्रिय अधिवेशनसमेत गर्न नसकेर क्लबमा परिणत भएका छन्, यो यहाँका रैथाने खेलका लागि अधोगति हो। खेलकुद मन्त्रालयले रैथाने शारीरिक खेलको संरक्षण र विकासका लागि कुनै सार्थक पहल नगरेको कबड्डी खेलका रेफ्रीसमेत रहेका दनुवारले बताए।
उनले सन् १९७० को दशकमा राष्ट्रिय खेलकुद परिषद्ले रैथाने खेलको खोजी गर्न समिति गठन गरेको भए पनि सार्थक प्रतिफल नदेखिएको बताए। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ले खेलकुद शब्दलाई परिभाषित गर्ने क्रममा गाउँघरका केही परम्परागत रैथाने खेललाई समेत खेलकुदभित्र समेटेको छ। यस विषयमा तीन दशकअघि खोजी भए पनि पछिल्लो समय खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकूद परिषद् समेतले परम्परागत खेलबारे चासो लिएको देखिएको छैन। रासस





















