चितवन । पूर्वसञ्चारकर्मी रवि लामिछानेले गृहमन्त्रालय सम्हालेका छन्। सोमबार तेस्रोपटक प्रधानमन्त्री भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उपप्रधानसँगै गृहमन्त्रीको सपथ ग्रहण गराएका हुन्। चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित नेता लामिछाने दल दर्ता गरेको छ महिनामै सत्तामा पुग्न सफल भएका हुन्।
मन्त्रालयकाे जिम्मेवारी सम्हाल्दै गर्दा नवनियुक्त गृहमन्त्री लामिछानेले आफ्नो कार्यकालभरि कसैको दबाबमा नपरी जनताको पक्षमा काम गर्ने प्रतिवद्धता जनाएका छन्। देशको शान्ति सुरक्षा र सुव्यवस्थाका लागि कुनै पनि कसर बाँकी नरहने गरी काम गर्ने योजनासहित मन्त्रालयको निम्मेवारी सम्हाल्न आइपुगेको उनले बताएका छन्।
लामिछानेसँगै माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले उपप्रधानसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन्। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले भने उपप्रधानसँगै अर्थमन्त्रीको जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री दाहालले सोमबार आठ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका हुन्। मन्त्रीपरिषद्मा ज्वालाकुमारी साह, राजेन्द्रकुमार राई, दामोदर भण्डारी र अब्दुल खानले पनि मन्त्री हुने मौका पाएका छन्। तर उनीहरुको मन्त्रालय जिम्मेवारी भने पछि तोकिने प्रधानमन्त्री कार्यालयले जनाएको छ।


























