चितवन । पूर्व–पश्चिम राजमार्गमा पर्ने नारायणगढ क्षेत्रको घरटहरामा डोजर लगाइएको छ। सडक डिभिजन कार्यालय भरतपुरले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सडक क्षेत्राधिकारभित्र पर्ने संरचनामा डोजर लगाएको हो। ३५ दिने सूचना जारी गरेर सडक मापदण्डविपरीतका संरचना भत्काउन निर्देशन दिए पनि घरधनीले वास्ता नगरेपछि शुक्रबार डोजर लगाएरै पुलचोकबाट भत्काउन सुरू गरेको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए। भिडियो हेर्नुहोस्ः
शुक्रबार पुलचोकबाट लायन्सचोकसम्मको संरचनामा डोजर लगाइएको हो। पुलचोक–गोन्द्राङ सडकलाई छ लेनमा बिस्तार गर्ने क्रममा राजमार्गको मुख्य केन्द्रबाट ३१/३१ मिटर भाग खाली गर्नुपर्ने भए पनि नारायणगढका घरधनीले अटेरी गरेपछि बाध्य भएर भत्काउनु परेको उनको भनाइ छ। यसअघि डा बाबुराम भट्टराईको प्रधानमन्त्री कालमा पनि सडक छेउमा परेका घरटहरा भत्काइएको थियो।
सडक डिभिजनले बाँकी रहेका संरचना शनिबार पनि भत्काउने बताएको छ। सडकले डोजर ल्याएर घर फोर्न थालेपछि केही घर भने स्थानीय आफैँले भत्काउन थालेका छन्। डोजरले भत्काउँदा थप क्षति हुने भएकोले मजदुर लगाएर आफैँले भत्काउन सुरू गरेका हुन्। अर्को पनि भिडियो हेर्नुहोस्ः


























