काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेश सभाको ४ मंसिरमा हुने निर्वाचनका लागि आज मध्यराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ। निर्वाचन कसुर तथा सजाय ऐनअनुसार मतदानअघिको ४८ घण्टालाई स्थिर समय भनिएको छ। स्थिर समय अर्थात् मौन अवधिमा दल तथा उम्मेदवारको पक्षमा कुनै पनि निर्वाचन सामग्री प्रचार गर्न पाइने छैन।
४ मंसिर बिहान ७ देखि साँझ ५ बजेसम्म हुने मतदानअघिको ४८ घण्टा अघिदेखि मौन अवधि सुरु भएको हो। निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा दल तथा उम्मेदवारको पक्षमा छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नपाइने जानकारी दिए । ‘कुनै पनि विधिबाट मत माग्ने र निर्वाचन प्रचार गर्न पाइने छैन। मतदानस्थलअघि राखिएका दल तथा उम्मेदवारका प्रचारप्रसार सामग्री सम्बन्धित दल तथा उम्मेदवारले पूर्णरूपमा हटाउनु पर्नेछ,’ उनले भने।
आयुक्त भण्डारीले उम्मेदवार, दल, भ्रातृ संगठनको सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा प्रचार सामग्री पूर्णरूपमा हटाउनुपर्ने बताए। सामाजिक सञ्जाल, छापा वा अन्य कुनै माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सन्देश सूचना प्रचार सामग्रीलगायत पोस्ट, सेयर, लाइक र कमेन्ट गर्न पनि नपाइने उनको भनाइ छ।
मदिरा बिक्री–वितरण र सेवनमा निषेध
आयोगले मौन अवधिमा मदिरा बिक्री–वितरण र सेवनमा निषेध गरेको छ। मतदान तथा मतगणनाको अवधिमा शान्तिपूर्ण अवस्था कायम राख्नका लागि मतदानको मितिभन्दा ४८ घन्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा निषेध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। मदिरा निषेध गराउन तथा सूक्ष्म अनुगमन गर्न सिडिओ, प्रहरीलाई निर्देशन दिइएको छ भने मदिरा व्यवसायीसँग सहयोग मागिएको छ।


























