भरतपुर । राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेले मंसिर ४ को निर्वाचनमा जसरी भए पनि जीत आफ्नै पक्षमा भएको दाबी गरेका छन्। चुनावी प्रचारप्रसारलाई व्यापक बनाइरहेका चितवन क्षेत्र नं.३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पाण्डेले आम मतदाताबाट आशिर्वाद प्राप्त भइरहेकोले जीतको सुनिश्चित भइसकेको दाबी गरेका हुन्।
चुनावी घरदैलोमा मतदाताकहाँ पुग्दा देखिएको उल्लास र स्वागत तथा सम्मानले पनि जीतको बाटो देखाइसकेको उनले बताए। ‘कतिपय स्थानमा देश बचाइदिनुस् भन्दै वृद्ध बा–आमा पनि रोइरहनुभएको छ,’ उनले भने। वृद्ध बा–आमाको सपना पूरा गर्ने पनि आफूले जित्नै पर्ने दबाब रहेको उनको भनाइ छ।
‘यसपटक जुनकुनै कोणबाट पनि जीत मेरै पक्षमा छ,’ उनले भने, ‘मेरो जीत हुनु भनेको नै जनताको जीत हो।’ देशमा भइरहेको चरम भ्रष्टाचार र वेथितिको विरूद्ध पनि सही उम्मेदवार चुन्ने तयारीमा मतदाता उभिएका उनले बताए। ‘देश जोगाउन र भावी सन्ततिको जीवन रक्षाका लागि पनि यसपटक सही नेतृत्व चुन्न आम मतदाता आतुर छन्,’ उनले भने।
देश विकासको मुख्य खाका लिएर चितवन–३ का मतदातासमक्ष उपस्थित भएको उनको भनाइ छ। ‘विकासको लागि दीगो योजना लिएर आएको छु,’ उनले भने, ‘चितवन–३ का मतदाताले देखेको सपना ममार्फत पूरा गराउने सोचमा हुनुहुन्छ भने राष्ट्रवादी तथा विकासवादी नेतालाई चुन्नुहोला।’
राम्रो काम गर्नेलाई चुन्नको लागि कसैलाई आरोप प्रत्यारोप गर्न आवश्यक पनि नभएको उनले बताए। आफू जनताको सेवाको लागि काम गर्न आएको हुँदा भाषण र शासनको पक्षमा आफू नरहेको समेत नेता पाण्डेले स्पष्ट पारे।


























