चितवन । राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् चितवन क्षेत्र नं.३ प्रतिनिधिसभा सदस्य पदका उमेदवार विक्रम पाण्डेले समग्र चितवनको विकासका लागि मेघौली र गोलाघाटको विकास गर्नुपर्ने बताएका छन्। चुनाव प्रचारप्रसारलाई तीव्र बनाउँदै लगेका पूर्वमन्त्री पाण्डेले प्राकृतिकरूपमै पर्यटकीय क्षेत्र मानिएको मेघौली र गोलाघाटलाई व्यवस्थित तरिकाले पर्यटकीय नगरी बनाउन सके समग्र चितवनकै विकासले मुहार फेर्ने दाबी गरेका हुन्।
त्यसको लागि नेतृत्वमा काम गर्ने जोश र जाँगर हुनुपर्ने उनले बताए। यसअघि जितेर गएका नेताहरूले पश्चिम चितवनको विकासबारे खासै चासो नदेखाएको हुँदा यसपटकको निर्वाचनमा पश्चिम चितवनको मुहार फेर्ने सपना बुनेर चितवन–३ मा उमेदवार बनेको उनको भनाइ छ।
‘यसपटक गोलाघाटलाई सीधै नारायणगको पुलचोक र सौराहा जोड्ने गरी पर्यटकीय मार्ग निर्माण गर्ने सपना बोकेर आएको छु,’ उनले भने, ‘नारायणी नदी किनारैकिनार पर्यटकीय मार्ग निर्माण गर्न सके नारायणी नदीमा व्यवस्थित तटबन्धनसमेत हुने भएकोले स्थानीयलाई नदी कटानको समस्याबाट ठूलो राहत मिल्छ।’
नदी कटानको समस्या समाधान हुनासाथ पश्चिम चितवनको कृषि उत्पादन दोब्बरले वृद्धि गर्न सकिने उनको भनाइ छ। ‘पश्चिम चितवन खेतीपातीमा उर्वर भूमि भएकोले यसको भरपुर सदुपयोग गर्न सकिन्छ,’ उनले थपे, ‘कृषि उत्पादन बढाउन विदेशी मलको आशा गर्नु हुँदैन। स्थानीयस्तरमै प्राङ्गारिक मल उत्पादन गर्नुपर्छ।’
यसअघिका कुनै पनि सरकार र सरकारमा पुगेका मन्त्रीले किसानका लागि समयमै मल तथा बीउको व्यवस्था मिलाउन नसकेको भन्दै उनले थपे, ‘गुणस्तरहीन मल आउँछ, त्यो पनि नचाहिने बेलामा। त्यसैले मलको लागि किसान आफैँले व्यवस्था गर्न सक्ने वातवारणको सिर्जना गर्ने मेरो योजना छ।’


























