चितवन । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवार बनेका पूर्वमन्त्री एवम् राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले विकासमा लागेको ग्रहण हटाउन आफू पुनः उम्मेदवार बनेको बताएका छन्। भरतपुर–१९ शारदानगरमा भएको कार्यक्रममा उनले भने, ‘विकासमा ग्रहण लागेको जस्तो देखियो । त्यसैले मंसिर ४ पछि त्यसलाई हटाउनुपर्छ भनेर म आएको छु ।’ उनले विकासमा ग्रहण लगाउनेहरूलाई जनताले नै विदाई गर्ने मौका आएको बताए।
चितवन–३ लाई समृद्ध बनाउन यसपालि आस्था र बिचारभन्दा माथि उठेर आफ्नो ठाउँको नेता छान्न पनि मतदातालाई आग्रह गरे। आफू चितवन–३ बाट जित्दा या हार्दा हरेक समय जनताकै साथमा रहेको हुँदा कालन्तरसम्म चितवनवासीकै नेता भएर काम गर्ने दीगो योजना लिएर बसेको उनको भनाइ छ।
उनले चितवन–३ लाई कृषि र पर्यटनको हबका रूपमा विकास गरेर सबल अर्थतन्त्र भएको क्षेत्रका रूपमा स्थापित गराउन आवश्यक रहेको बताए। ‘देशको अस्तित्व जोगाउनका लागि सदनबाट आवाज उठाउनु पर्ने हुँदा सदनमा चितवन–३ को विकास र देश जोगाउनेबारे आवाज उठाउने जिम्मा लिन म यहाँहरूसामु उपस्थित भएको छु,’ उनले भने, ‘अझै एक पटक काम गर्ने जिम्मा मलाई दिनुस्, विकास कसरी गर्ने भनेर देशले अनुसरण गर्ने काम गरेर देखाउने छु।’ उनले धर्म, संस्कृति र धार्मिक सम्पदाहरूको संरक्षणका लागि पनि राप्रपाले सशक्त भूमिका खेल्ने बताए।
यस्तै चितवन ३ (ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार रीना गुरूङले चितवन–३ लाई विकासको गतिमा लैजानको लागि विक्रम पाण्डे नै योग्य उम्मेदवार भएको दाबी गरिन्। उनले दलीय आस्थाका आधारमा भोट हाल्दा चितवन–३ ले विकासमा ५ वर्ष गुमाएको गल्ती सम्झनसमेत आग्ह गरिन्।


























