चितवन । पूर्वमन्त्री एवम् राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले माडीको अयोध्याधाममा भव्य मन्दिर बनाइने बताएका छन्। सोमबार चितवनका पत्रकारहरुसँग कुराकानी गर्दै नेता पाण्डेले अयोध्याधामलाई धार्मिक र पर्यटकीय गन्तव्य बनाउने योजना कार्यान्वय हुने बताएका हुन्। चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका नेता पाण्डे चितवनको हित हुने र विकासका लागि आफू सधैँ तत्पर रहेको बताए। आयोध्याधामको योजना सफल बनाउनको लागि सीप र विज्ञताको प्रयोग गरेर विश्वस्तरमा पुर्याउने लक्ष्य रहेको उनको भनाइ छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमै जन्मेको भनि अभिव्यक्ति दिएपछि माडी–९ को अयोध्याधाम निकै चर्चामा छ। अस्थायी मन्दिर बनाएर राम, सीता, लक्ष्मण, हनुमानको मूर्तिसमेत राखिएको छ। उनले वन र मानवबीच द्वन्द न्यूनीकरण गर्न बगईदेखि बनकट्टासम्म रिउ करिडोरमा ठूलो लगानी भित्र्याउने दाबी गरे। जनावरलाई बस्ती जानबाट रोक्ने, वैकिल्पिक बाटो पनि हुने गरी करिडोरको आयोजना लागू गर्ने योजना रहेको उनले बताए। आफूले जनताबाट पराजित भएर पाँच वर्षसम्म कुरे पनि जनताको पक्षमा काम नभएकोले यसपटक पुनः जनतामाझ उपस्थित भएको उनले बताए।
उनले पुलचोक–गोलाघाट–सौराहासम्म साइकल ट्रयाकसहितको पर्यटन मार्ग विकास गरेर चितवनको पर्यटनलाई थप उचाइमा लैजाने तर्क व्यक्त गरे। माडीमा डिजेल पेट्रोल इञ्जिनका सवारीहरु चलाउन रोक लगाएर विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने योजना अगाडी बढाउने बताए। त्यसको लागि दुई वर्षमात्रै मन्त्री बन्न पाएँ भने पनि चितवनको कायापलट गर्नेछु। चितवन–३ मा बजेट अभाव भएमा वैदेशीक सहयोग भित्र्याएरै भए पनि कृषि, पर्यटन र पूर्वाधारमा फड्को मारिने उनको भनाइ छ।
पछिल्लो पाँच वर्ष विकास हुने आशमा डिष्टर्व नगर्ने सोचले मौन बसे पनि विकासमा प्रगति नभएपछि फेरी चुनावमा आएको उनले बताए। नेपालका मतदाताले भोट नहालेको कुनै चिन्ह नै बाँकी नरहेकाले दलका सिद्धान्तहरु नै विलय भइसकेको उनले बताए। उनले माडी नगरपालिका, मालपोत कार्यालय, नापी कार्यालय, इलाका प्रशासन कार्यालयलगायतका सबै संरचना एकै क्षेत्रमा राख्ने गरी रमाइलो डाँडाको टापु सम्याएर विल्डिङ डिजाइन सहयोग गर्न तयार हुँदासमेत रोकिएको सम्झिए।


























