चितवन । लामो समयसम्म पर्यटक बोकेर घुमाएकी काजलकलीको आइतबार मृत्यु भएको छ। बिरामी भएर ढलेको १० दिनपछि आइतबार दिउँसो करिब पौने ४ बजे मृत्यु भएको राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेरिनरी प्राविधिक किरण रिजालले जानकारी दिए। सामान्यतया बिरामी भएर ढलेको हात्ती उठ्ने सम्भावना नरहे पनि औषधि उपचार गरेर काजलकलीलाई दुईपटकसम्म उठाइएको थियो।
मृत्यु भएपछि काजलकलीको पोष्टमार्टम गरी नेपाली संस्कारअनुसार अन्त्येष्टी गरिएको छ। पोस्ट मार्टममा कुनै पनि रोग नदेखिएकोले वृद्ध भएकै कारण मृत्यु भएको रिजालले बताए। करिब ७० वर्षीया काजलकलीको शरीर सुक्दै गएको थियो। सौराहाका व्यवसायी मधुकर रेग्मीले गतवर्ष भदौमा भारतीय व्यवसायीलाई बेचेका थिए। तर सरकारले हात्ती आयात–निर्यातमा रोक लगाएपछि सिमानाबाट फर्काइएकी काजलकलीलाई विगत ११ महिनादेखि सौराहाका पर्यटन व्यवसायी शीरलाल परियारको संरक्षण गर्दै आएका थिए।


























