चितवन । चितवनमा किसानलाई मल, बीउ पाउन राम्रैसँग पापड पेल्नुपर्छ। कृषिको उर्वर भूमि मानिएको जिल्लामा अधिकांश किसानले कालोबजारीमा मल खरिद गरेर खेतीबाली लगाउनुपर्ने बाध्यता छ।
यही विषयलाई लिएर चितवनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सोमबार कृषि ज्ञान केन्द्रलाई ध्यानाकर्षण गराएको छ। चितवनका किसान र कृषिजन्य वस्तुको आयात तथा उपलब्धतामा सहज बनाइदिन माग गर्दै ज्ञान केन्द्रलाई किसानको समस्या समाधानमा लाग्न सुझाव दिएको हो।
कृषिप्रधान देशको उपमा पाएर पनि सरकारले कृषि क्षेत्रलाई पछाडि पार्दै आएको हुँदा त्यसतर्फ सचेत गराउन आन्दोलन नै गर्नुपरेको पार्टीका जिल्ला अध्यक्ष रूद्रप्रसाद ढकालले जानकारी दिए।
हरेक किसानका लागि भूमिगत सिंचाइ तथा प्राङ्गारिक कृषितर्फ ध्यान केन्द्रित गराउनुपर्ने उनले बताए। मल अभावका कारण धान लगाउने किसान रोपाईँ छाडेर मलको लागि लाइन लाग्नुपर्ने बाध्यता रहेको भन्दै किसानलाई समयमै युरिया, डिएपी, पोटासलगायतका मलको व्यवस्था मिलाइदिन समेत माग गरिएको उनले बताए।
यस्तै बीउबिजनमा ५० प्रतिशत अनुदान, कृषि उपजको उचित मूल्य निर्धारण, कृषक पेन्सन, कृषक परिचयपत्रजस्ता विषय कागजमा मात्रै सीमित भएकोले व्यवहारमा लागू गराउन पनि पार्टीले माग गरेको छ।
कृषि क्षेत्रमा प्रयोग हुने विद्युत महशुलमा शतप्रतिशत छूट, कृषि उपज भण्डारणको व्यवस्था, कृषि प्रयोजनको लागि सस्तो ब्याजदरमा सर्वसुलभ बैंकिङ सेवा, कृषिमा आधुनिकीकरण एवं औद्योगिकरणको व्यवस्था, किटनाशक औषधिमा ५० प्रतिशत अनुदानको व्यवस्थालगायतका किसान हितकार्यमा ध्यान दिन पनि राज्यलाई सजग गराइएको पार्टी अध्यक्ष ढकालले बताए।


























