चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दुई राउण्ड गोली र एक थान पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका वडा नम्बर ८ घर भइ हाल भरतपुर ५ मा डेरा गरी बस्ने वर्ष ३२ का प्रकाश विकलाई आइतबार बिहान करिब साढे ६ बजे पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ।
उनको निवासमा खानतलासी गर्दा एक थान कटुवा पेस्तोल, दुई राउण्ड गोली, एक लाख १४ हजार रुपैयाँ नगद, सुनको लकेटसहितको सिक्री एक थान र पाँच थान मोवाइलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।
पक्राउ परेका विकमाथि हातहतियार तथा खरखजना कसुरमा थप अनुसन्धान भइरहेको उनले बताए। चितवन प्रहरीले गत जेठ २३ गते भरतपुर महानगरपालिका वडा नं. ४ बाट कटुवा पिस्तोलसहित भरतपुर महानगरपालिका वडा नं. ६ बस्ने दीपक पुनमगरलाई पक्राउ गरेको थियो।


























