चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महिलाहरुको शिर नझुक्ने गरी काम गर्ने दाबी गरेकी छन्। एसोसिएसन अफ मन्टेश्वरी प्रि-स्कुल एम्सको दोस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनको उद्घाटन गर्दै मेयर दाहालले जनताको अमूल्य मतको कदर हुने गरी अघिल्लो कार्यकालमा पनि काम गर्ने प्रयास गरेको र यसपटक पनि सोहीअनुसार शिर ठाडो हुने गरी काम गर्ने प्रतिवद्धता जनाएकी हुन्। ‘पहिलोपटक छवटा महानगरपालिकामा भरतपुरले मात्र महिला मेयर पाएको थियो’, उनले भनिन्, ‘जे बाचा गरेको थिएँ, त्यो पूरा गरेँ। अहिले पनि छवटा महानगरमा भरतपुरले मात्र महिला मेयर पाएको छ। तपाईहरुले पनि गर्व गर्नुभएकै छ।’
दोस्रोपटक मेयरमा भारी मतका साथ निर्वाचित हुने कुरा सामान्य नरहेको बताउँदै मेयर पदमा पहिलोपटक निर्वाचित हुँदा भरतपुर अस्पतालमा वृद्धा र महिलाको लागि ओपिडी टिकट निःशुल्क गरेर महिलाको पक्षमा निर्णय गरेको स्मरण गराइन्। दोस्रोपटक पदभार ग्रहण गर्दा पनि भरतपुरका छोरीलाई एक लाखको निःशुल्क जीवन बीमा तथा सात हजार लिटरसम्म निःशुल्क खानेपानी उपलब्ध गराउने निर्णय गरेको उनले बताइन्। छोरी नेतृत्वमा पुग्दा छोरीकै समस्यालाई बुझ्ने प्रयास गरेको उनको भनाइ छ।

पहिलो कार्यकालको निर्णय अन्य स्थानीय तहले पाँच वर्षपछि लागू गरेको भन्दै उनले भरतपुर महानगरपालिका महिलाको पक्षमा महत्त्वपूर्ण निर्णय गर्दै आएको उनको भनाइ छ। मेयर दाहालले महिलाले सञ्चालन गरेका व्यवसायमा पनि महानगरले विषेश सहुलियतको व्यवस्था गर्दै आइरहेकाले मन्टेश्वरीलाई पनि अभिभावकत्व प्रदान गर्न कुनै पनि कसुर बाँकी नराख्ने जिकिर गरिन्। एसोसिएसन अफ मन्टेश्वरी प्रि-स्कुल एम्सका अनुसार जिल्लामा १०० को संख्यामा मन्टेश्वरी छन्। तीमध्ये भरतपुरमा मात्रै ८० वटा छन् । यसमा ९० प्रतिशत महिला सञ्चालक र शिक्षक छन्।


























