चितवन । औपचारिकरुपमा कवि, निबन्धकार हुँदै आख्यानकारको दर्जा समाल्न सफल साहित्यकार भूपिन खड्काको पहिलो उपन्यास ‘मैदारो’ले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)द्वारा प्रदान गरिएको करिब तीन लाख नेपाली रुपैयाँ बराबरको पुरस्कार पाएको छ। मैदारोले राजधानीको प्रज्ञाप्रतिष्ठानमा भएको कार्यक्रममार्फत दुई हजार १०० डलर बराबरको पुरस्कार प्राप्त गरेको हो।
विगत दुई वर्षमा छापिएका साहित्यिक कृतिको छनौट गर्दा भूपिनको मैदारो सर्वाेत्कृष्ट छनौटमा परेको हो। २०७५ सालमा प्रकाशित उपन्यास मैदारोले एउटा चित्रकारको आँखाबाट हेरिएको सामाजिक कलंक छुवाछूत र जातीय विभेदको कथा बोल्ने प्रयास गरेको छ। भूपिनको प्रकाशित कृतिमध्ये मैदारो पाँचौँ कृति हो भने औपन्यासिक कृति पहिलो हो।
यसअघि उनको ‘क्षतिग्रस्त पृथ्वी र मूल सडक’, ‘हजार वर्षको निद्रा’ र ‘सुप्लाको हवाइजहाज’ कविता संग्रह प्रकाशित छन् भने ‘चौबीस रिल’ निबन्ध संग्रह पनि यसअघि नै प्रकाशित भएको कृति हो। वि.सं. २०३० सालमा बाग्लुङको बलेवामा जन्मिएका भूपिन पेसाले शिक्षक हुन्। उनी चितवनको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा अध्यापन गर्छन्। उनी चितवनमा रहेर विभिन्न साहित्यिक संघसंस्थामा समेत आवद्ध छन्।


























