चितवन । वि.सं. २०३७ सालमा स्थापना भएको रत्ननगरस्थित शहीद स्मृति बहुमुखी क्याम्पसको पश्चिम साँधमा रहेको जग्गा विवादित बनेको छ। क्याम्पसले विगत ४० वर्षदेखि भोगचलन गर्दै आएको भनिएको क्याम्पससँगैको तीन कठ्ठा १५ धुर जग्गा जग्गाधनीले क्याम्पसलाई दान दिने मौखिक सहमति भए पनि जग्गाधनीले क्याम्पसलाई थाह नदिइकन अर्कै व्यक्तिलाई बेचेको भन्दै क्याम्पसले शुक्रबार पत्रकार सम्मेलन गरेर असन्तुष्टि जनाएको हो।
क्याम्पस प्रमुख धर्मदत्त तिवारीका अनुसार जग्गाधनी दुर्गादेवी श्रेष्ठले क्याम्पसलाई दानको रुपमा दिने मौखिक सहमति भएको थियो। २०३७ सालमा क्याम्पसले उनै दुर्गादेवी श्रेष्ठसँग ४ बिघा जग्गा खरिद गरेको थियो। सोही जग्गासँग जोडिएको पश्चिमतर्फ कित्ता नं ३६९ को जग्गा मोही छुटाएपछि दानस्वरुप क्पाम्पसलाई नै नामसारी गरिदिने बचन श्रेष्ठले दिएकी थिइन्। क्याम्पसको हातमा जग्गाधनी पूर्जा नभए पनि विगत चार दशकयता क्याम्पसले नै भाेगचलन गर्दै आएको हुँदा उक्त जग्गा क्याम्पसको नाममा आउनुपर्ने क्याम्पस प्रशासन र व्यवस्थापन समितिको अडान छ।
क्याम्पसले नै तारबार गरेर संरक्षण गर्दै आएको जग्गाको काँडेतार हालको जग्गाधनीले काटिदिएपछि विवाद सतहमा आएको हो। खासमा यो जग्गा २०७३ सालमै भोलानाथ नेपालकी श्रीमती अर्पना नेपाल र कमलचन्द्र खनालकी श्रीमती सुमित्रा खनाललाई बिक्री गरी नामसारीसमेत गरिदिएकी छन्। तर क्याम्पस सञ्चालक समितिले भने ४० वर्षदेखि भोगचलन गर्दै आएको क्याम्पस हाताभित्रको जग्गा भूमाफियाले चलखेल गरी कब्जामा लिएको आरोप लगाएको छ।
क्याम्पसले आफूले पाउनुपर्ने दाबी गरे पनि आधिकारिक जग्गाधनी पूर्जा भने व्यक्तिको नाममा गइसकेको छ। आफ्नो साँधमा भएको जग्गा क्याम्पसलाई नै चाहिने हुँदा बेच्नै परे पनि क्याम्पससँग सल्लाह गरेरमात्रै कारोबार गर्नुपर्ने क्याम्पस व्यवस्थापन समितिको माग छ। २०७३ सालमै बिक्री भइसकेको उक्त जग्गा क्याम्पसले नछाडेपछि अर्पना नेपालले जग्गाको लालपुर्जा आफूसँगै रहेको भनी चितवन जिल्ला अदालतमा निशेधाज्ञा जारी गरी पाऊँ भन्दै उजुरी दिएकी थिइन्। जिल्ला अदालतको वैशाख ६ मा भएको फैसला नेपाल र खनालकै पक्षमा आएपछि क्याम्पस प्रशासनमाथि अन्याय भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामबाबु घिमिरेले बताए।

विवाद समाधानका लागि समिति गठन
विवादित विषयलाई टुङ्गो लगाउन जेठ १६ गते बसेको क्याम्पस सभाबाट पूर्वसांसद एवम् पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीको संयोजकत्वमा ९ सदस्यीय समितिसमेत गठन गरिएको छ। समितिको सदस्यहरुमा जिल्ला समन्वय समिति चितवनका निवर्तमान प्रमुख कृष्णकुमार डल्लाकोटी, रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रल्हाद सापकोटा, उप-प्रमुख यादव पाठक, सञ्चालक समितिका अध्यक्ष रामबाबु घिमिरे, इश्वरी अर्याल, श्याम बराल, बद्रीनाथ घिमिरे, र धर्मदत्त तिवारी छन्।
जग्गाधनी पूर्जा प्राप्त व्यक्तिको समूहले गत वैशाख १० गते क्याम्पसले लगाएको तारबार काटेपछि क्याम्पसको भौतिक सामग्रीसमेत असुरक्षित भएको भन्दै गठित समितिले असार ५ गते पुनः तारजाली लगाउने निर्णय गरेको छ। उक्त जग्गा क्याम्पसलाई नै छाडिदिन क्याम्पससँग सम्बन्धित पक्षले दबाब दिँदै आएको छ। तर क्याम्पससँग बलियो आधार/प्रमाण नभएको हुँदा पूर्जा भएको व्यक्तिसँग खरिद गरेमात्रै आफ्नो पक्षमा जग्गा प्राप्त गर्न सकिने सम्भावना छ।


























