चितवन । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सोमबार नारायणी कला मन्दिरका पूर्व अध्यक्ष एवम् वरिष्ठ कलाकार ऋद्धिचरण श्रेष्ठ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्ष एवम् वरिष्ठ लोक तथा दोहोरी गायक अम्बर ‘विरही’ गुरूङसहित ६ जनालाई पुरस्कृत गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत प्रतिष्ठानको १२औँ वार्षिकोत्सवको अवसरमा ‘संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’अन्तर्गत विभिन्न विधामार्फत उनीहरूलाई पुरस्कृत गरिएको हो।
वि.सं. २०१६ मा ‘विजय’ नाटकमार्फत कलाकाररिताको यात्रा थालेका श्रेष्ठले करिब २० वटा नाटकमा अभिनय गरिसकेका छन् भने करिब ७० जति चलचित्रमा अभिनय गरिसकेका छन्। प्रत्यक्ष लोकदोहोरी गीत गाउँदै औपचारिक गायन यात्रा थालेका वरिष्ठ गायक अम्बर ‘विरही’ गुरूङ भने वि.सं.२०३९ सालबाट सांगितिक दुनियाँमा प्रवेश गरेका हुन्।
चार दशकको यात्रामा करिब ४० बढी एल्बम निकालेका उनले सोही मात्रामा रेडियो नेपालमा आवाज भराएका थिए। उनकै पहलमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको जन्म भएको थियो। हाल उनी लोक तथा दोहोरी गायिका शर्मिला गुरूङ नेतृत्वमा रहेको तमू कलाकार संघका केन्द्रीय सल्लाहकारका रूपमा आवद्ध छन्।
सोही मञ्चमा संगीत विधाबाट वरिष्ठ संगीतकर्मी मोहनकृष्ण कार्की ‘ढली’, नृत्य विधाबाट वरिष्ठ नृत्य निर्देशक वीणा जोशी राजभण्डारी, नाटक विधाबाट वरिष्ठ नाटककार मनबहादुर मुखिया र परम्परागत संगीत विधाबाट वरिष्ठ जलतरंग वादक मोहनप्रसाद जोशी पनि पुरस्कृत भएका छन्।


























