चितवन । कुमाल जाति र समुदायको विस्तृत परिचयसहितको पुस्तक ‘कुमाल जातिको पहिचान, संस्कार र संस्कृति’ प्रकाशनमा आएको छ। नेपाल राष्ट्रिय कुमाल समाज सुधार समितिका उपाध्यक्ष रामसिंह कुमालद्वारा लिखित उक्त कृतिमा समग्र कुमाल जातिको धर्म, संस्कृति, भाषा तथा भेषभुषालाई समेटिएको छ। चितवनमा बसोबास गर्दै आएका कुमाल समुदाय केन्द्रित भएर लेखिएको कृतिमा कुमाल जातिको परिचय, जन्मदेखि मृत्युसम्मका संस्कार तथा संस्कृतिले पनि स्थान पाएको छ।
पुस्तक २५२ पृष्ठमा समेटिएको छ। चितवनमा कुमाल समुदायको जनसंख्या ९ हजार ३०२ छ भने नवलपरासी, गुल्मी, गोरखा, पाल्पा, धादिङ, पर्सा, अर्घाखाँची, लमजुङ, कास्कीलगायतको जिल्लामा कुमाल समुदायको बसोबास छ।
यो समुदायमा बच्चा जन्मिएको तस्रो, पाँचौँ वा सातौँ दिनमा न्वारन गर्ने चलन छ। त्यसपछि भात खुवाइ, छेवर र छाँद फुकाउने गरिन्छ। विवाहमा मागी विवाहलाई बढी प्राथमिकतामा राखे पनि भागी विवाहलाई समेत सहर्स स्वीकार्ने चलन छ। विवाहमा मागल गीत गाउने, चिराग बाल्ने, दुलाहा–दुलहीलाई जमिन टेकाउन नहुने, अबिर खेल्ने, जन्तेरीलाई हात धोइदिनेलगायतको चलन यो समुदायमा प्रचलित छ।
वैशाख पूर्णिमा, साउने सङ्क्रान्ति, श्रीकृष्ण जन्माष्टमी, सोह्र श्राद्ध, तीज, दसैँ, तिहार, एकादशी, माघे सङ्क्रान्ति, फागु पूर्णिमा, चैते दसैँलगायत कुमाल समुदायले वर्षभरिमा ११ वटा चाडपर्व मनाउँछन्। कुमाल समुदायको भाषा, धर्म, संस्कार र संस्कृति संरक्षणको लागि यो पुस्तकले विशेष भूमिका खेल्ने विश्वास लिइएको छ।


























