दैलेख । दैलेखको आठबीस नगरपालिका-३ स्थित सिस्नेमा बुधबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। कालिकोटको जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दुर्घटनामा परी कर्णाली नदीमा खसेको हो। घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरकुमार शाहले जानकारी दिए।
बस सडकबाट झण्डै ५० मिटर तल नदीमा खसेको उनले बताए। बसमा कति यात्रु सवार थिए भन्ने विषयमा एकीन नभएकोले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते हुनसक्ने अनुमान गरिएको छ। अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्।
घटनास्थलमा पुगेका सशस्त्र प्रहरीका इन्स्पेक्टर बालकृष्ण श्रेष्ठले अँध्यरो भएकोले उद्धार कार्य कठिनाइ भएको बताए। उनका अनुसार बसमा झन्डै ५० देखि ६० जना सवार रहेको अनुमान छ। थप विवरण आउन बाँकी छ।


























