चितवन । पाँच दलीय गठबन्धनको तर्फबाट चितवनको भरतपुर महानगरपालिकामा पहिलोपटक नेकपा एकीकृत समाजवादी पार्टीले वडाअध्यक्ष पाएको छ। वडा नम्बर ७ मा राजेन्द्रमणि काफ्ले विजयी भएपछि एकीकृत समाजवादीले खाता खोलेको हो। २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित काफ्लेले यसपटक एमालेकै नेता सनतकुमार लामिछानेलाई १७३ मतले हराएका हुन्। पूर्वएमाले काफ्लेले १८०८ मत ल्याउँदा नयाँ वर्तमान एमालेका लामिछानेले जम्मा १६३५ मत पाए।
वडा नम्बर ७ को नजिता आएसँगै मेयरमा गठबन्धनकी संयुक्त उमेदवार रेनु दाहालले २५२८ मतले अग्रता लिइरहेकी छन्। दाहालले १२७६९ मत पाउँदा एमालेका विजय सुवेदीले भने १०२४१ मत पाएका छन्। उपमेयरमा भने शुरुवाती चरणदेखि नै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले अग्रता कायम गरिरहेका छन्। १५ हजार २६ मत पाएर अग्रता लिइरहेका अधिकारीलाई राप्रपा-एमालेका संयुक्त उमेदवार हिमला गुरूङले ८३११ का साथ पछ्याइरहेकी छन्।