चितवन । इच्छाकामना गाँउपालिकाको अध्यक्ष पदका उमेदवार गीताकुमारी गुरुङले यसअघि आफू अध्यक्ष हुँदा गरेको विकासको कामकै आधारमा यसपटक पुनः चुनाव जित्ने दावी गरेकी छन्। सोही आधारमा आफ्नो पक्षमा माहोल बनेकाे उनको दाबी छ। गाँउपालिकाको अध्यक्ष भएदेखि नै नागरिकको सुविधा र विकासमा मात्रै ध्यान केन्द्रित भएको उनले बताइन्। बाँकी काम पूरा गर्नको लागि पनि यसपटक पुनः उमेदवारी दिएको उनको भनाइ छ।
अभाव र भौगोलिक विकटताले असुविधा भोगेका जनताको लागि स्थानीय सरकार भएको महसुस गराउन सक्दो प्रयास गरेको उनले बताइन्। आफ्नो कार्यालयमा भन्दा बढी जनताको घरदैलोमा पुगेर समस्या पहिचान र समाधान गर्नमा केन्द्रित रहेको उनले बताइन्। चितवनको पहाडी क्षेत्रमात्रै रहेको इच्छाकामनामा कठिनताका बाबुजत पनि परिवर्तन गर्न सफल भएको उनले बताइन्।

बजेट व्यवस्थापन गर्दै एकपछि अर्को योजनाले जनताको आँगनमा विकासको लहर आएको स्थानीय बताउँछन्। प्रशस्त तरकारी खेती हुने तोलाङका स्थानीय किसानले गाउँपालिकामा गीताकुमारी गुरुङ अध्यक्ष भएर आइसकेपछि यातायातको विकास भएसँगै स्थानीय उत्पादनले बजार पाएको बताउँछन्। सडककै विकासका कारण आयआर्जनमा सहज भएको इच्छाकामना २ का विकास गुरुङ बताउँछन्।
‘गाउँमा केही समस्या पर्यो भने गीता दिदीलाई भनेपछि काम बनिहाल्छ, पहिलेको तुलनामा अहिले हाम्रो गाँउ धेरै फेरिएको छ,’ उनले भने, ‘छोरी मान्छे भए पनि छोरा मान्छेभन्दा बढी काम गरेर देखाउनुभएको छ।’ गाउँगाउँमा बिजुली बत्ती, खानेपानी, विद्यालय पूर्वाधार, सडक निर्माण, स्वास्थ्य चौकीलगायतको क्षेत्रमा उनले उल्लेख्य काम गरेकी छन्।
विकट बस्तीमा खानेपानीको धारा घरैमा पुर्याएकी छन्। खानेपानीको अभावमा तड्पिएका जनताको घरको आँगनमा धारा झरेको छ। बर्षौंदेखि खानेपानीको लागि घण्टौँ हिड्ने समस्या भोगेका वडा नं. १ को सबैभन्दा विकट ज्यान्दालाका चेपाङबासी गाउँमा खानेपानी पुर्याएपछि स्थानीयको दैनिकी नै फेरिएको छ। आँगनमा पानीको धारा आएपछि स्थानीय दङ्ग छन्।

गाउँबाट झण्डै एक घण्टाको दूरीमा रहेको खोलाबाट पानी बोक्नुपर्ने समस्याबाट मुक्ति पाएका स्थानीय भीमबहादुर चेपाङले बताए। ‘खोलामा पानी भर्न जाँदा पनि पालो पर्खेर बस्नुपर्ने बाध्यता थियो। तर, अहिले घरको आँगनमै धारा पुगेको छ,’ उनले भने , ‘पानी बोक्दै जीवन बित्ने यहाँका स्थानीयको दैनिकी फेरिएको छ, हामीले अहिले शुद्ध पिउने पानी घरैमा पाएका छौँ।,’
यसपटक गीताकुमारी गुरुङसँगै उपाध्यक्षमा प्रताप गुरुङले उमेदवारी दिएका छन्। पाँच दलीय गठबन्धनको तर्फबाट गीताकुमारी नेपाली कांग्रेसको तर्फबाट र प्रताप माओवादी केन्द्रबाट प्रमुख र उपप्रमुख पदमा उमेदवार बनेका हुन्। अबको कार्यकालमा इच्छाकामनाको मुहार फेर्ने थप योजनासहित अध्यक्ष उपाध्यक्षको उमेदवार बनेको उपाध्यक्ष पदका उमेदवार प्रताप गुरुङले दाबी गरे।


























