चितवन १६ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएको बताएका छन्। नारायणी नदी नियन्त्रण आयोजनाको शिलान्यास समारोहमा बोल्दै उनले नदी कटानको समस्या र नागरिकले भोग्नुपरेको पीडा अब अन्त्य भएको बताएका हुन्। आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा ल्याएको जनता तटबन्धन कार्यक्रम कार्यान्वयनमा आएको बताउँदै पूर्वप्रधानमन्धीसमेत रहेका अध्यक्षा दाहालले भने ‘अब नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएका छन्।’
वर्षा सुरु भएसँगै पानी पर्दा नारायणी नदीमा बाढीको बहाव आउँदा काठमाडौँ बस्दा पनि डुबान, कटान के भयो होला भनेर आफू चिन्तित हुने गरेको उनले बताए। आफ्ना मतदाताको विषयमा हरहमेशा चिन्तित रहेको उनको भनाइ छ। चिन्ता गरेअनुसार नै जनतासँग गरेको बाचा पुरा भएको उनको भनाइ छ। नारायणी नदी नियन्त्रण तथा तटबन्धन कार्यक्रम सम्पन्न हुँदा यो क्षेत्र सहर र विकासको केन्द्र हुने उनको भनाइ थियो। भरतपुरको विकास देशकै एक मोडेलको रूपमा स्वदेश र विदेशमा चर्चा हुने गरेको समेत उनले बताए।
आन्तरिक स्रोत परिचालन : मन्त्री भुसाल
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले यस आयोजना निर्माणका लागि मन्त्रालयको आन्तरिक स्रोत परिचालन गरिएको बताएकी छन्। विगतमा अभिशाप बनेको नारायणी तटीय क्षेत्र तटबन्धन सम्पन्न हुँदा वरदानको रूपमा परिणत हुने उनले बताइन्। आयोजना सम्पन्न हुँदा २९० बिघा जमिन संरक्षण हुने र केही रकम लागत खर्च वापत लिएर सो क्षेत्र उकास भएको जमिन सम्बन्धित जग्गा धनीलाई नै दिने आयोजनाको लक्ष्य रहेको उनले बताइन्। तोकिएकै समयमा गुणस्तरीय ढङ्गले काम सम्पन्न गर्न निर्माण व्यवसायी र सम्बन्धित कर्मचारीलाई उनले निर्देशन दिइन्।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यो आयोजना सम्पन्न हुँदा नदी तटीय क्षेत्रका नागरिकले कहिलै दुःख भोग्नु नपर्ने बताइन्। यो आयोजनाले नागरिकको धन जनाको रक्षा गरेको भन्दै आफूले निर्वाचनका बेला गरेको बाचा पूरा गरेको उनको भनाइ छ। रु चार अर्ब ३२ करोडको लागतमा सुरू भएको नदी नियन्त्रण कार्य दुई वर्षमा सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ। रासस


























