चैत्र ८ । फिल्म ‘हेल्लो जिन्दगी’ गीत सार्वजनिक भएको छ। ’अनौठो माया’ बोलको सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारहरु विक्रम जोशी र दीपिका प्रसाईं फिचर्ड छन् । बेलायतको रमणीय दृश्यहरुमा छायांकन गरिएको गीतमा एड्रिन प्रधान र रेजिना रिमालको स्वर रहेको छ।
गीतमा निर्देशक एभरेष्ट सुर्य बोहोराको शब्द रहेको छ भने संगीत अमित श्रेष्ठले दिएका छन्। गीतको निर्देशन विष्णु देवाले गरेका छन्। काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म युनिटले गीत सार्वजनिक गरेको हो। चैत्र १८ गतेबाट प्रदर्शनमा आउने फिल्ममा ‘मर्डर मिस्ट्री’ सँगै बदला र मित्रताको कथा देखाइएको छ। फिल्मको बारेमा बोल्दै अभिनेता जोशीले यसमा फरक कथा देख्न पाउने बताए। हामीले केहि नयाँ कथा दर्शक समक्ष ल्याउने तयारी गरेका हौँ। फिल्मले निराश बनाउँदैन’ अभिनेता जोशीले भने।
कार्यक्रममा बोल्दै निर्मात्री सृजना जोशीले फिल्म निर्माणमा कुनै सम्झौता नगरिएको बताइन्। ’हामीले राम्रो फिल्म बनाउन कुनै सम्झौता गरेनौं । तर, एक्ट्रेसबाट हामीले सहयोग पाएनौं। हामी नेपाली फिल्मको स्तरीयता बढाउन आएका हौँ’ उनले भनिन्। सृजना झैँ फिल्मका निर्देशक एभेरेष्ट सुर्य बोहोराले आफ्नो ड्रिम प्रोजेक्ट भएको बताए।
’मैंले यो कथामा फिल्म बनाउने तयारी सन् २०१२ मा गरेको थिएँ। मुहुर्त पनि गरेको थिएँ। यद्दपी विविध कारणले फिल्म बन्न सकेन’ निर्देशक बोहोराले भने। फिल्ममा सेन्ट्रल क्यारेक्टरमा विक्रम जोशी छन्।
बिक्कीको उपनामले समेत परिचित विक्रमले अभिनयमा ह्याप्पी डेज मार्फत डेब्यु गरेका थिए। त्रिकोणत्मक प्रेम कथा रहेको फिल्ममा विक्रमसँगै दीपिका प्रसाईं र प्रियंका कार्कीको पनि अभिनय रहेको छ। नेपाल र बेलायतको रमणीय दृश्यमा छायांकन गरिएको फिल्मलाई एभरेष्ट सुर्य बोहराले निर्देशन गरेका छन्। फिल्ममा विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, सबिता गुरुङ, ध्रुव दत्तलगायतका कलाकारको अभिनय पनि रहेको छ।
हिराल जोशी र बिक्रम जोशी निर्मातामा रहेको फिल्ममा सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेकी छिन्। निर्देशक बोहरा र बिक्रम जोशीको कथा रहेको फिल्ममा निर्देशक बोहरा र अभिमन्यु निरवीको पटकथासँगै सम्वादमा रहेको छ।
फिल्ममा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत रहेको छ भने प्रमोद खरेल, प्रताप दास, प्रबिशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालको पाश्र्वगायन छ। यसमा पुरुषोत्तम प्रधानको छायाँकन, सम्राट बस्नेतको द्वन्द निर्देशन र मित्र डि. गुरुङको सम्पादन रहेको छ।


























