चितवन, फागुन २९ । निर्माण व्यवसायी महासंघको अध्यक्षका उम्मेदवार निकोलस पाण्डेलाई प्रजातन्त्रवादी पक्षधरहरुले समर्थन गरेका छन्।
नेपाली कांग्रेसले पाण्डेलाई आफ्नो आधिकारिक उम्मेदवार भएको प्रष्ट पारेको छ। शनिबार कांग्रेस निकट निर्माण व्यवसायीहरुको भेलामा कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले कन्फयुजनमा नपरि निकोलस पाण्डे नेतृत्वको टिमलाई जिताउन अपील गरे। “प्रजातन्त्रवादीहरुको नेतृत्वमा संगठन रहोस् भनेर उम्मेदवार तयर गरिएको छ”, उनले भने, “क्षमता, कार्यकुशलता, गतीशिलताका आधारमा चयन गरिन्छ, निकालोस् सक्षम उम्मेदवार छन्।”
उनले एउटै व्यक्तिलाई एउटै पदमा निरन्तरता दिनुभन्दा नयाँ व्यक्तित्वलाई अगाडी ल्याउनु उपयुक्त हुने बताए। वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे अमेरिकामा पढेर स्वदेशमै बसेर विकास निर्माणमा सक्रिय भएकाले उनको क्षमताकै कदर गर्न अध्यक्षमा जिताउन आव्हान गरे।
नेता पाण्डेले निकालेस् विद्यार्थीकालमा नेविसंघमा लागेको र अहिले आधिकारीक रुपमा कांग्रेसको सदस्यता लिइसकेकाले कांग्रेसले जिताउन लागिपर्ने बताए। “गत वर्ष हाम्रै प्यानलमा राखेर जिताइएको थियो, यसपाली पनि कांग्रेसले निकालेसलाई कांग्रेसको समर्थन गर्छ”, उनले भने, “प्रजातन्त्रवादीहरु सबैले जिताउन लागौँ।” निकोलस पाण्डेले प्रजातन्त्रवादी पक्षधरहरुको प्यानलनै बनाएर चुनावी मैदानमा होमिएकाछन्।

पाण्डे अघिल्लो कार्यकालमा नै अध्यक्ष उठ्ने चर्चा चलेको थियो। तर अध्यक्ष रवि सिंहले अर्को कार्यकालमा अध्यक्ष बनाउन सहयोग गर्ने वचन दिदै वरिष्ठ उपाध्यक्षमा समर्थन गरेका थिए। निर्माण व्यवसायीहरु झण्डै ७० प्रतिशत कांग्रेस निकट रहेको आंकलन छ। कांग्रेसको समर्थन पाएपछि पाण्डेलाई निर्वाचन जित्न थप सहज बनेको छ। पाण्डे जिल्ला तथा प्रदेश संघहरुसँग निकट रहदै निर्माण व्यवसायीहरुको हकहित तथा नीति निर्माण खटिदै आएकाछन्।
उनले एमाले, राप्रपा, स्वतन्त्र पक्षधरहरुको मत समेत बढी पाउने अनुमान छ। निर्माण व्यवसायी महासंघको अध्यक्षका लागि अध्यक्षमा हालका अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे र हुमनाथ कोइरालाको उम्मेदवारी परेको छ। वरिष्ठ उपाध्यक्ष पाण्डे कालिका कन्स्ट्रक्सनको सञ्चालक हुन्। राप्रपा उपाध्यक्ष तथा पूर्वमन्त्री बिक्रम पाण्डेका छोरा हुन्।


























