फागुन २५ । जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ।
अन्तिम १६ अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगमा रेडबुल साल्सबर्गलाई ७-१ गोल अन्तरले हराउँदै समग्रमा ८-२ को जितसँगै बायर्न क्वाटरफाइनलमा पुगेको हो।
पहिलो लेगमा बायर्न र साल्सबर्गले १-१ गोलको बराबरी खेलेको थियो। घरेलु मैदानमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गरे।
खेलको १२ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीबाट गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए। २१ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टी बाटै व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २-० को बनाए।
खेलको २३ औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गरेपछि बायर्नको अग्रता तेब्बर बन्यो। खेलको ३१ औं मिनेटमा सर्जी जिनाब्रीले गोल गरेपछि बायर्नले ४-० को अग्रता बनायो। थोमस मुलरले ५४ औं मिनेटमा गोल गर्दै टिमको अग्रता ५-० को बनाए।
खेलको ७० औं मिनेटमा साल्सबर्गका केजरगार्डले गोल गर्दै खेल ५-१ को स्थितिमा ल्याए। खेलको ८३ औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ६-१ को बनाए।
त्यसपछि ८६ औं मिनेटमा लोरी सानेले गोल गर्दै बायर्नलाई ७-१ को जित दिलाए।


























