फागुन २२ । आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत भारतले पाकिस्तानमाथि शानदार जित दर्ता गरेको छ।
न्यूजिल्यान्डको माउन्ट मौन्गानुईमा भएको खेलमा भारतले पाकिस्तानलाई १ सय ७ रनले पराजित गरेको हो। भारतले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले ४३ ओभरमा अलआउट हुदै मात्र १ सय ३७ रन जोड्न सक्यो।
पाकिस्तानका लागि सिदरा अमिनले सर्वाधिक ३० तथा डियाना वेगले २४ रन जोडे। भारतका लागि राजेश्वरी गायाक्वाडले सर्वाधिक ४ विकेट हात पारिन्।
झुलन गोस्वामी र स्नेह रानाले समान दुई–दुई विकेट लिए। मेघना सिंह र दिप्ती शर्माले एक–एक विकेट हात पारे।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउदै २ सय ४४ रन जोड्यो।
भारतका लागि पुजा भस्त्रकारले सर्वाधिक ६७ रनको योगदान गरिन्। स्नेह रानाले ५३ तथा स्मृति मन्धानाले ५२ रन जोडे।
पाकिस्तानका लागि नसरा सन्धु र निदा दारले समान दुई–दुई विकेट हात पारे। डियाग बेग, अनाम अमिन र फतिमा सानाले एक–एक विकेट लिए।


























