फागुन १९ । रोमानियामा भएका हवाई दुर्घटनामा ८ जनाको मृत्यु भएको छ।
पूर्वी रोमानियास्थित कृष्ण सागरको तटीय क्षेत्रमा हराइरहेको सैनिक विमान खोज्नका लागि उडेको हेलिकोप्टर दुर्घटनामा पर्दा हेलिकोप्टरमा सवार सबै ७ जनाको ज्यान गएको रोमानियाका अधिकारीले जनाएका छन्।
रोमानियाको गुरा डोब्रोगे क्षेत्रस्थित विमानस्थलबाट उडेको केही समयमा नै हेलिकोप्टर दुर्घटनामा परेको थियो। रोमानियाका अधिकारीहरुले दुर्घटनाको पुष्टि गर्दै दुर्घटनाग्रस्त आइएआर ३३० पुमा हेलिकोप्टर विमानस्थलबाट ११ किलोमिटर टाढा फेला परेको जनाएका छन्। उक्त हेलिकोप्टर रडारबाट गायब भएको मिग २१ लान्सर लडाकु विमानको खोजी अभियानमा थियो।
कृष्ण सागरमा हवाई गस्तीका लागि उडेको रोमानियाली वायुसेनाको विमान हराएपछि यसलाई खोज्न हेलिकोप्टर पठाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
हराएको भनिएको उक्त लडाकु विमान पनि कृष्णसागरकै तटनजिक फेला परेको जनाइएको छ। उक्त दुर्घटनामा विमानका ३१ वर्षे पाइलटको पनि मृत्यु भएको रोमानियाका अधिकारीले पुष्टि गरेका छन्।


























