फागुन १९ । भारतको उत्तर प्रदेश राज्यमा विधानसभाका लागि मतदान जारी छ। विधानसभा चुनाव अन्तर्गत छैटौँ चरणको मतदान भएको हो। छैटौँ चरणको चुनाव अन्तर्गत १० जिल्लामा ५७ सिटका लागि ६७६ जना प्रतिस्पर्धामा रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
मुख्यमन्त्री योगी आदित्यनाथले उम्मेद्वारी दिएको गोरखपुरमा निर्वाचन क्षेत्रमा पनि आजै मतदान भइरहेको छ। योगी आदित्यनाथ पनि चुनावी दौडमा रहेकाले यो चरणको मतदानलाई अत्यन्त महत्वका साथ हेरिएको छ।
गोरखपुर बाहेक बललिया, सन्त कबीर नगर, बस्ती, बलरामपुर, महाराजगञ्ज, सिद्धार्थनगर, कुशिनगर, अम्बेडकरनगर र डिओरियामा पनि आजै मतदान भएको हो।
उत्तर प्रदेशको विधानसभामा ४०३ सिट कायम छ जसमा बहुमतका लागि २०२ सिट आवश्यक पर्छ। गत फेब्रुअरी १० तारिखबाट शुरु भएको निर्वाचनको सातौँ तथा अन्तिम चरणको मतदान आगामी ७ मार्चमा हुनेछ। एजेन्सी


























