फागुन ९ । दिवाकर भट्टराईको निर्देशनमा बन्न्न लागेको चलचित्र ‘हनी बनी’मा अभिनेत्री सारा सिर्पाली अनुबन्धित भएकी छन्। सारालाई चलचित्रमा अनुबन्ध गरेको निर्देशक भट्टराईले पुष्टि गरे।
चलचित्रको कथाअनुसार उनी पूर्ण रुपमा फिट हुने भएपछि उनलाई चलचित्रमा भित्र्याइएको उनले बताए। सारालाई अभिनेत्री दीपिका प्रसाईंले नै कामका लागि अफर गरेकी थिइन्। दिवाकरले साराको भूमिकाको विषयमा भने, ‘मलाई यो चलचित्रमा अभिनय गर्ने नायिका चाहिएको हो। विदेशमा बस्ने नेपाली युवतीको भूमिकामा सारा देखिंदैछिन्।’
यो चलचित्रमा अभिनेत्रीको रुपमा अनमोल केसी अनुबन्धित भइसकेका छन्। अनमोल र साराले पहिलोपटक चलचित्रमा काम गर्न लागेका हुन्। चलचित्र ‘हनी बनी’लाई प्रेमकथामा निर्माण गरिने निर्माणपक्षले बताएको छ।
चलचित्र ‘हनी बनी’को छायांकन मार्चबाट सुरु हुनेछ। चलचित्रलाई युरोपका विभिन्न देशमा छायांकन गरिने निर्देशक भट्टराईले बताए। यो चलचित्रको प्रदर्शन मिति समेत तय भइसकेको छ। ‘हनी बनी’लाई असोज १४ गते रिलिज गर्ने निर्माणपक्षको योजना छ।


























