फागुन ९ । बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ। चारा घोटाला काण्डमा दोषी ठहर भएका यादवलाई ५ वर्षको जेल सजाय सुनाइएको हो।
राष्ट्रिय जनता दलका प्रमुखसमेत रहेका यादवलाई झारखण्डस्थित सीबीआईको विशेष अदालतले चारा घोटाला काण्डमा गत मंगलबार दोषी ठहर गरेको थियो। उनलाई दोरन्दा कोषबाट अवैध रुपमा एक अर्ब ३९ करोड ३५ लाख निकालेको सम्बन्धी मुद्दामा दोषी ठहर गरिएको हो।
दोषी ठहर भएका यादवलाई सोमबार पाँच वर्षको जेल सजायसहित ६० लाख जरिवाना सुनाइएको भारतीय समाचार माध्यमले जनाएका छन्। उनलाई चारा घोटालासम्बन्धी चारवटा अन्य मुद्दामा यसअघि नै दोषी ठहर गरिएको थियो।
तीन दशकअघि भएको ९ अर्ब ५० बराबरको उक्त घोटालामा सीबीआईले ६४ वटा मुद्दा दर्ता गरेको थियो। यसमध्ये यादवको नाममा ६ वटा मुद्दा रहेका थिए। चारवटा मुद्दामा दोषी ठहर भएपछि यादवलाई १४ वर्षको जेल सजाय सुनाइएको थियो।


























