काठमाडौं, फागुन ९ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले लामो कसरतपछि संसदमा पेश भएको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सहमतिमै पारित हुने बताएका छन्। उनले एमसीसीकै कारण गठबन्धन टुट्ने अनुमान गर्नु हतारो हुने बताए।
सोमवार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका प्रवक्ता महतले प्रधानमन्त्री शेरबहादुर देउवा सबै दलको सहमतिमा एमसीसी पास गर्ने पक्षमा रहेको बताएका हुन्। गठबन्धनका दुई दल माओवादी केन्द्र र नेकपा एसले यथास्थितिमा एमसीसी पास गरिए सरकार छाड्ने चेतावनी दिँदै आएका छन्।
‘हामीलाई आशा र विश्वास छ, जसरी एमसीसी टेबल गर्न गठबन्धनका दलले सहयोग गर्नुभयो पास गर्न पनि सहयोग गर्नुहुनेछ,’ महतले भने, ‘हाम्रो तर्फबाट निरन्तर संवाद जारी छ। गठबन्धनमा समस्या आउने छैन, हामी विश्वास गर्न चाहन्छौँ। अहिले नै यो भयो भने के गर्नुहुन्छ भनेर अनुमान गर्न जरुरी छैन।’
एमसीसीमा नेपालका कुनै पनि सरकार अछुतो नरहेकोले पास गर्दा सबै दलको समर्थन रहने उनले विश्वास व्यक्त गरे। ‘ढिलै भए पनि गठबन्धनले एमसीसी टेबुल गर्न सहमति गरे, १२ गते संसदमा छलफल गर्ने निर्णय भएको छ,’ महतले भने, ‘प्रधानमन्त्री र कांग्रेस चाहन्छ एमसीसीमा सबै दलको सहमति होस्।’
डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रक्रिया शुरू भएको र नेपालको हितमा छ भन्ने निष्कर्षका साथ सबै सरकारले स्वामित्व लिएकोले अहिले विरोध गर्न नमिल्ने उनले दाबी गरे।
‘अहिले अमेरिकी सेना आउँछ भनेर गलत प्रचार गरेका छन्, काम छैन किन आउँछ अमेरिका ? यस्तो झुटो प्रचार नेपालको इतिहासमा आजसम्म कहिल्यै भएको थिएन,’ महतले भने।
महतले एमसीसीबारे नेपालमा पटक–पटक झुटो कुरा दोहोर्याएर सत्य हो कि भन्ने भ्रम पाल्न खोजिएको आरोप लगाए।


























