चितवन, फागुन ४ । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करणका पहिलो चरणका खेल भरतपुरमा हुने भएको छ। भरतपुर महानगरपालिका भित्रका दुई खेल मैदानमा यही फागुन १० गतेदेखि खेल हुने भएको हो।
लिगको पहिलो चरणको खेल सञ्चालनका लागि भरतपुर महानगरपालिका र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बीच सम्झौता भएको छ। सम्झौतापत्रमा महानगर प्रमुख रेनु दाहाल र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले हस्ताक्षर गरेकाछन्।
महानगर प्रमुख दाहालले राष्ट्रिय महिला लिग भरतपुरमा आयोजना गर्न पाउनु गर्वको विषय भएको बताइन्। एन्फा अध्यक्ष शेर्पाले भरतपुर देशकै मध्यभागमा रहेकाले राष्ट्रिय महिला लिगको पहिलो चरणका खेल यहाँ आयोजना गर्न लागिएको बताए।
सम्झौताअनुसार लिग सञ्चालनका लागि महानगरले एन्फालाई रु २० लाख आर्थिक सहयोग उपलब्ध गराउनेछ। राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेल भने विराटनगरमा हुनेछ। लिगका ५६ मध्ये २८ खेल चितवनमा हुनेछ। खेल भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित कृष्णपुर खेल मैदान र वडा नं १९ को खेल मैदानमा हुनेछ। केही दिनभित्रै खेल तालिका सार्वजनिक गरिनेछ।
यसपटक महिला लिगमा तीन विभागीय टोली नेपाल प्रहरी क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सहित, वालिङ, विराटनगर, चपुर, धनगढी र ललितपुर भिड्नेछन्। यसअघि पहिलो संस्करणको महिला लिग काठमाडौँमा भएको थियो। रासस


























